नेपालगन्ज- बाँकेको खजुरा गाउँपालिका वडा नं. ५, उढरापुरमा बनेको शीतभण्डार सञ्चालनमा आउन सकेको छैन । शितभण्डार संञ्चालन गर्ने सहकारी वा फर्म सम्पर्कमा नआउदा पालिकालाई चुनौती थपिएको छ ।
एक हजार पाँच सय मेट्रिक टन क्षमताको शितभण्डार गाउँपालिकाले सञ्चालनका लागि शहकारी संस्था वा कृषि फर्मलाई २ पटक प्रस्ताव अवहान गर्न सुचना निकालेर आग्रह गरे पनि कोही पनि नआएपछि सञ्चालन गर्न चुनौती थपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल बहादर पौडेलले बताए । उहाँ भन्नुहुन्छ, “हामीले शितभण्डार सञ्चालनका लागि २ पटक प्रस्ताव अवहानका लागि सुचना निकालेकाछौं, तर कुनै पनि व्यक्ति, सहकारी वा फर्म प्रस्ताव लिएर आएनन् । अब आगामी आर्थिक बर्ष बर्ष २०८३/८४ मा तेस्रो पटक प्रस्ताव आवहानका लागि सुचना निकाल्ने तयारी छ, कोही पनि नआए गाउँपालिका आफैले शितभण्डार सञ्चालन गर्ने उनले बताए ।” गाउँपालिकाले आगामी आर्थिक बर्षमा शित भण्डार सञ्चालनका लागि ५० लाख बजेट समेत बिनियोजना गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
Advertisement

खजुरा गाउँपालिकाको गौरवको योजनाका रुपमा अघि सारेको शीत भण्डार निर्माणको काम करिब ९५ प्रतिशत सम्पन्न भएको छ,। शितभण्डारमा बिद्युतिकरण र समान्य मर्मतको काम मात्रै बाँकी रहेको छ । सञ्चालनको प्रक्रिया अगाडी बढेपछि पालिकाले बिद्युतीकरण र मर्मत गरेर दिने गाउँपालिकाले जनाएको छ । खजुरा गाउँपालिका–५ उढरापुरमा एक बिघा सात कठ्ठा क्षेत्रफलमा बनेको उक्त भण्डारको निर्माण गरिएको छ । शित भण्डार सञ्चालनमा आएपछि स्थानीय किसानलाई आफना उत्पादन राख्नमा सहयोग पुग्ने गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले बताए ।
शित भण्डार २०७८ सालबाट निर्माणको काम शुरु भएको थियो । धेरै चरणमा म्याद थप भएर निर्माण कम्पनीले २ बर्ष अगाडी निर्माणको काम अन्तिम चरणमा पुर्याएको थियो । अहिले पनि निर्माण कम्पनीले गाउँपालिकालाई हस्तान्तरण गरेको छैन ।
उक्त शितभण्डार निर्माणका लागि लुम्बिनी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सर्शत अनुदान अर्न्तगत ५ करोड र खजुरा गाउँपालिकाले ४ करोडको लागतमा निर्माण भएको छ । गाउँपालिका भित्र र जिल्लाका अन्य पालिकाका किसानहरुको तरकारी, फलफुल र अन्य कृषि उपजको खेर जाने अवस्था रोक्ने र किसानलाई उचित मूल्य दिलाउने उद्देश्यले शितभण्डार निर्माण गरिएको हो ।
शित भण्डार सन्चालनमा आउने कुराले यहाँका स्थानिय कृषक उत्साहित भएका थिए । किसानलाई व्यावसायिक बनाउँदै स्वरोजगार बनाउन र कृषि उत्पादनमा समेत वृद्वि गर्न शीत भण्डारले सहयोग पुग्ने खजुरा गाउँपालिकाका अगुवा कृषक गेहेन्द्र धिताल बताउँनुहुन्छ । तर निर्माण सम्पन्न भएर पनि केही बर्षदेखि सञ्चालनमा नआउदा किसानहरु निराश भएको उनले बताए ।
‘शीत भण्डारमा कृषकले उब्जाएको तरकारी र फलफूल भण्डारण गर्न सकिने थियो। किसानले उब्जाएका फलफूल, तरकारी, माछा मासु, दुग्धलगायत वस्तुहरु वातानुकुलित राख्ने व्यवस्था हुने थियो, हाम्रा उत्पादनहरु खेर जाने डर हुने थिएन,’–उनले भने । शीत भण्डार नहँुदा र खेती गरेर उब्जाएको वस्तु पनि राख्ने ठाउँ नहुँदा मौसममै सस्तोमा बेच्नुपर्ने अवस्था छ । यसकारण वर्षभरि उत्पादन गरेको आफ्नो कृषि उत्पादन भण्डारण गर्ने स्थान पाए मात्रै पनि व्यावसायिक कृषि कर्म गर्ने ईच्छा भएका किसानका लागि केही सहजता हुने धितालले बताए ।
खजुरा ७ उढरापुर चोकका किसान आलम खानले पनि व्यवसायिक रुपमा आँप खेती गर्दै आउनुभएको छ । तर शितभण्डार सञ्चालनमा नआउदा उत्पादनबाट लगानी अनुसारको आम्दानी लिन नसकि खेर गैरहेको बताए ।
शित भण्डार सञ्चालनमा आएमा फलफुल तथा तरकारी भण्डारण गरी कृषि उत्पादनबाट मेहनत अनुसारको आम्दानी गर्न सकिने भएकाले शितभण्डार छिटो सञ्चालन गर्नु पर्ने उनको माग छ ।
खजुरा गाउँपालिकाको नौ हजार पाँच सय ९९ हेक्टर जमिनमा कृर्षिजन्य उत्पादन हुँदै आएको छ । बाँकेको खजुरामा मात्रै नभईकन लुम्विनि प्रदेश नै कृषि उपजका लागि चिनिएको प्रदेश हो । तर, यहाँका अधिकाँश कृषिजन्य उत्पादनहरु उपयुक्त वातावरणमा भण्डारण गर्न नसकिएकै कारण खेर गएको अवस्था छ । यसै अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेशले कृषि क्षेत्रको प्रवद्र्धन र उत्पादित बस्तुको उचित भण्डारणको लागि प्रदेशका विभिन्न स्थानहरुमा शित भण्डार निर्माण गरेको छ ।








