कारागार ड्युटीमा रहेका प्रहरी जवानलाई सहकर्मीको एसएलआरबाट लाग्यो गोली

 

सप्तरी । सप्तरीको राजविराज नगरपालिका–६ स्थित कारागारको सुरक्षामा रहेका एक प्रहरी जवान सहकर्मीले बोकेको एसएलआर राइफलबाट अचानक गोली चल्दा घाइते भएका छन् ।

Advertisement

घटना बुधबार राति करिब ११:२० बजे कारागार सुरक्षा गार्डको ‘ए’ ब्लकस्थित पोस्ट नम्बर–३ मा भएको कारागार प्रशासनले जनाएको छ ।

 

घाइते हुनेमा नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर (धनुषा) दरबन्दी रहेका २२ वर्षीय प्रहरी जवान बिसोजित राय यादव रहेका छन् । उनी राति १० बजेदेखि २ बजेसम्मको ड्युटीमा खटिएका थिए ।

कारागार प्रमुख रूपक मण्डलका अनुसार, शौचालयमा पिसाब फेरेर आफ्नो पोस्टतर्फ फर्कने क्रममा पोस्ट नम्बर–४ मा ड्युटीमा रहेका २२ वर्षीय प्रहरी जवान अजय कुमार मेताले बोकेको एसएलआर राइफलबाट एक राउण्ड गोली अचानक चलेको थियो । उक्त गोली कम्मरमाथिको ढाडको भागमा लाग्दा बिसोजित गम्भीर घाइते भएको मण्डलले बताए ।

 

घाइते यादवलाई तत्काल उद्धार गरी गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचारका लागि लगिएको थियो ।

त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित घोपा क्याम्पमा रेफर गरिएको छ ।

एसएलआर बोकेका प्रहरी जवान अजय कुमार मेहतालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, सप्तरीमा राखिएको प्रहरी स्रोतले बताएको छ । अनलाईन खबर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु