काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायत १७ जिल्लाका साना नदीमा बहाव बढ्ने जनाएको । विभागका अनुसार बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदीमा बहाव बढ्ने सम्भावना छ र यो जोखिम दुई दिनसम्म कायमै रहनेछ।
महाशाखाले आज बिहान जारी गरेको बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव भने अहिले सतर्कता तहभन्दा तलै छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको अवस्था पनि सामान्य रहेको महाशाखाले उल्लेख गरेको छ।
Advertisement

ठुला नदीमा बहाव सामान्य देखिए पनि देशका विभिन्न १७ जिल्ला भएर बहने साना नदीहरूमा भने आज बाढीको मध्यम जोखिम छ। महाशाखाका अनुसार आज बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम र आसपासका जिल्लाका साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ।
बाढीको यो जोखिम आगामी दुई दिनसम्म पनि कायमै रहने देखिएको छ। भोली र पर्सी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेश भई बहने साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने पूर्वानुमान महाशाखाले गरेको छ। ती क्षेत्रका नदी तटीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले जोड दिएका छन्।








