कांग्रेस सांसदको जिकिर– १० हजार जरिवानापछि तनावले त्रिपुरेश्वरमा आत्मदाह प्रयास

 

काठमाडौं । काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको विषय संसद् बैठकमा पनि उठेको छ ।

Advertisement

नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका हुन् ।

 

सांसद शाहीकाअनुसार, मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ११ का नेपाली राहदानी बनाउन बिहान ११ बजे विभाग पुगेका थिए ।

‘मोटरसाइकल पार्किङ गरेकै भरमा निजको बाइक ताला लगाइदिएको र १० हजार जरिवाना गरेको विषयबाट मानसिक तनावमा परी आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्,’ उनले संसद् बैठकमा भने ।

 

घटनामा नेपालीको शरीर करिब ९० प्रतिशत जलेको र हाल उनको वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा अचेत अवस्थामा उपचार भइरहेको पनि उनले जानकारी गराए ।

‘कुनैपनि जरिवाना वा प्रशासकीय कारबाही नागरिकको जीवनभन्दा ठूलो हुन सक्दैन । कानुनको कार्यान्वयन आवश्यक छ, तर मानवीय संवेदनशीलतालाई बुझ्नुपर्छ । निजलाई आत्मदाहको अवस्थासम्म पुर्‍याउने दोषीमाथि कारबाही गरियोस् र यस्ता हृदयविदारक घटना दोहोरिन नदिन प्रभावकारी कदम चालियोस् ।’

सांसद शाहीले हाल सरकारले जरिवानाका नाममा जथाभावी रकम असुल गरिरहेको आरोप लगाउँदै यसले नागरिकमा चरम निराशा पैदा गरेको बताए । अनलाईन खबर ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु