वडासदस्यले शिक्षा अधिकृतमाथि मोविल खन्याएर दुर्व्यवहार

 

दाङ — बिद्यालय व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै घोराही उपमहानगरपालिका–१५ का वडासदस्य लेखनाथ बुढाथोकीले उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोराको शरीरमा मोविल खन्याएर दुर्व्यवहार गरेका छन् ।

Advertisement

उनले शनिबार बिहान विद्यालयको गेटनजिकै मोटरसाइकलमा सवार बोहोरालाई मोविल खन्याइदिएका थिए । घोराही–१५ स्थित पद्मोदय पब्लिक नमूना मावि भरतपुरको व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै दुर्व्यवहार गरेका हुन ।

बाटोमा मोटरसाइकल रोकेर बुढाथोकीले बोहोराको शरीरमा प्लाष्टिकको बोतलबाट मोविल खन्याउँदै अन्तमा बोतल प्रहार गरी दुर्व्यवहार गरेका थिए । उक्त दुर्व्यवहारको भिडियो बुढाथोकीले आफ्नै फेसबुक पेजबाट सार्वजनिक गरेका थिए ।

बुढाथोकीले विद्यालय व्यवास्थापन समितिको निर्वाचन रोक्न माग गर्दै असार २३ मा उपमहानगरपालिका कार्यालयमा निवेदन दिएका थिए । निर्वाचन गैरकानुनी रुपमा हुन थालेको दाबी गर्दै उनले रोक्न माग गरेका थिए ।

उपमहानगरपालिकाले बिहीबार विद्यालयलाई पत्र पठाउँदै यस सम्बन्धमा के भएको हो रु छानबिन गरी नियमानुसार आवश्यक प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो ।

निवेदन पनि संलग्न गरिएको थियो । शनिबार विद्यालयमा व्यवस्थापन समितिको निर्वाचन भइरहेको छ । बुढाथोकीले दुर्व्यवहार गरेको जानकारी आएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी दिपक श्रेष्ठले बताए । बुढाथोकी कांग्रेसबाट निर्वाचित वडासदस्य हुन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु