बाढीपहिरोको कहरः दोलखामा चार महिने शिशुको मृत्यु, मकवानपुरमा ट्रक बग्यो, राजमार्ग अबरुद्ध

काठमाडौं । देशभर बादी पहिरोको कहर देखिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् । राजमार्गहरु अवरुद्ध बनेका छन् ।

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

Advertisement

दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोष कुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको मृत्यु भएको हो उनकी आमा १९ वर्षीया शर्मिला थामी गम्भीर घाइते भएकी हुन् ।

 

भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट उनीहरु बोलेरो गाडी चढेर घर फर्किरहेका थिए । सुनखानी–साङवा सडक खण्डस्थित क्याङपोल हेलेक्पाथालीको पहिरोले सडक अवरुद्ध भएकाले गाडीमा ओर्लिएर हिँड्ने क्रममा अर्को पहिरोमा उनीहरु परेका थिए ।

स्थानीयले उद्धार गरेर उनीहरुलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पतालमा पठाएका थिए । अस्पताल पुर्‍याएलगत्तै छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । आमा शर्मिलालाई भने प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

मकवानपुरमा बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के ट्रकलाई सोमबार बिहान ७:४५ बजेतिर बाढीले बगाएको हो ।

 

खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्कामा) पानीको बहाव बढ्न गई ट्रक बगाएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्किएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ ।

ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बाढी-पहिरोले मुख्य राजमार्ग प्रभावित, यात्रामा सावधानी अपनाउन आग्रह

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।

सडक विभागको विवरणअनुसार २०८३ असोज २९ गते बिहान ६:३० बजेसम्म देशका विभिन्न प्रदेशका राजमार्गहरू प्रभावित भएका छन् ।

सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा पनि सडक भासिएपछि अवरुद्ध भएको सडक भने खुलिसकेको भोटेकोशी गाउँपालिका-२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए ।

इकोमा सडक भासिंदा तातोपानी नाका पुनः ठप्प

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको कोदारीको इकोमा सडक भासिँदा तातोपानी नाका पुनः ठप्प भएको छ ।

भोटेकोसी गाउँपालिका-२ कोदारीको इकोमा सडक भासिएपछि नेपाल-चीन जोड्ने तातोपानी नाका सोमबार पुनः ठप्प भएको हो।

 

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार आइतबार साँझदेखि परेको अविरल वर्षापछि अरनिको राजमार्गको कोदारीको इकोका करिब दुई मिटर सडक भासिएपछि सवारी आवागमन रोकिएको हो । अहिलेपनि पानी परिरहेकोले सडकमा माथिबाट लेदो बगेकोले काम गर्न समस्या भएको छ ।

सडक खुलाउन चरिकोट सडक डिभिजन कार्यालयले सडक भासिएको स्थानमा गिट्टी र माटो हाल्न पनि वर्षाले समस्या भएको प्रहरीले जनाएको छ ।

वर्षाको समयमा गत बर्ष पनि इको पहिरोमा सडक भासिने, पहिरो जाने समस्या भएको थियो । केही साना फोरह्वीलवाला सवारी र मोटरसाइकललाई ठेलेर पहिरो कटाइएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएपछि चीनबाट भन्सार प्रक्रिया पूरा गर्न नेपालतर्फ आउँदै गरेका र नेपालबाट चिन तर्फ जाने मालवाहक कन्टेनर रोकिएका छन् ।अनलाईनको सहयोगमा ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु