हाम्रो नेपालमाः तिम्ल्याहा शिशुको जन्म दिएकी आमा र सन्तानको स्वास्थ्य सामान्य

 

भारदह (सप्तरी)। सप्तरीको तिरहुत गाउँपालिका वडा नं. १ धनपुरीकी सरितादेवी सदाले एकै पटक तीन जना सन्तान (तिम्ल्याहा) लाई जन्म दिनुभएको छ ।

Advertisement

उहाँले बिहीबार दिउँसो करिब ३:३० बजे स्थानीय भारदह अस्पतालमा सामान्य प्रसूति (नर्मल डेलिभरी) मार्फत तिम्ल्याहा सन्तानलाई जन्म दिनुभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उत्तम देवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले आमा र तीनै जना नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।”

चिकित्सा विज्ञानमा निकै जटिल मानिने यस्तो तिम्ल्याहा गर्भावस्थामा बिनाशल्यक्रिया सामान्य प्रसूति हुनु र आमा तथा बच्चा दुवै सुरक्षित रहनु निकै सकारात्मक रहेको स्थानीय सुशीला यादवले बताउनुभयो ।

विपन्न दलित सदा समुदायकी महिलाले एकै पटक तीन नवजात शिशुलाई जन्म दिएकाले आर्थिक अभावका कारण पोषण, थप स्वास्थ्य उपचार तथा पालनपोषणमा समस्या हुने भन्दै स्थानीय सरकार र सरोकारवाला निकायले विशेष सहयोग गर्न आवश्यक रहेको स्थानीय बासिन्दाको भनाइ छ ।

ग्रामीण क्षेत्रमा रहेको भारदह अस्पतालले यस्तो जटिल प्रसूति सेवा सफलतापूर्वक सम्पन्न गरेपछि स्थानीय बासिन्दाले अस्पतालका स्वास्थ्यकर्मीको टोलीको प्रशंसा गरेको स्थानीय सुशीला यादवले बताउनुभयो ।

भारदह अस्पतालमा एकै साथ तीन सन्तानको जन्म भएको र आमा तथा बच्चा सबै सकुशल रहेको जानकारी पाएपछि अस्पतालप्रति स्थानीयको विश्वास बढेको सामाजिक अभियन्ता जसो माझीले बताउनुभयो । यस अस्पतालको स्तरोन्नति र दक्ष जनशक्तिको व्यवस्था भएमा स्थानीय स्तरमै जटिल रोगको उपचार सम्भव हुने उहाँको भनाइ छ । गोरखापत्र ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु