इनरुवा – सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि स्थिति नियन्त्रण बाहिर जान नदिन जिल्ला प्रशासन कार्यालयले सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ।
जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकको निर्णयअनुसार मंगलबार राति ९ बजेदेखि लागू हुने गरी जिल्लाका प्रमुख १० वटा स्थानीय तह (क्षेत्र) मा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो।
नवनियुक्त प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम यो आदेश जारी गर्नुभएको हो। यसअघि देवानगञ्ज र हरिनगरका केही संवेदनशील क्षेत्रमा मात्र सीमित रहेको कर्फ्यु अब जिल्लाका अन्य ठूला सहर र ग्रामीण भेगसम्म विस्तार गरिएको छ।
कर्फ्यु लगाइएका क्षेत्रहरू:
प्रशासनका अनुसार हाल कर्फ्यु जारी गरिएका १० स्थानीय तहहरू निम्न प्रकार छन्:
-
- इनरुवा नगरपालिका
- हरिनगर गाउँपालिका
- देवानगञ्ज गाउँपालिका
- भोक्राहा नरसिंह गाउँपालिका
- कोशी गाउँपालिका
- गढी गाउँपालिका
- बर्जु गाउँपालिका
- दुहबी नगरपालिका
- रामधुनी नगरपालिका
- इटहरी उपमहानगरपालिका (वडा नम्बर ११, १२, १३ र १४ मात्र)
यी गतिविधिमा पूर्ण प्रतिबन्ध:
कर्फ्यु अवधिभर अर्को आदेश जारी नभएसम्मका लागि तोकिएका क्षेत्रमा निम्नलिखित कार्यहरूमा पूर्ण रूपमा रोक लगाइएको छ:
-
- सर्वसाधारणको आवतजावत तथा हिँडडुल
- कुनै पनि बहानामा भेला, बैठक, वा छलफल गर्न
- जुलुस, र्याली, प्रदर्शन वा राजनीतिक सभा आयोजना गर्न
- सरकारी कार्यालय वा सार्वजनिक स्थलहरूमा घेराउ गर्न
Advertisement
के भएको थियो देवानगञ्जमा?
गत आइतबार राति देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा धार्मिक सांस्कृतिक कार्यक्रम (बोलबम) का क्रममा डिजे (DJ) बजाउने विषयलाई लिएर दुई पक्षबीच विवाद सुरु भएको थियो। उक्त विवादले उग्र रूप लिँदा दुवै समूहबीच ढुङ्गामुढा र हिंसात्मक झडप भयो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली र झडपका क्रममा दुई जनाको मृत्यु भइसकेको छ भने २४ जनाभन्दा बढी सुरक्षाकर्मी र स्थानीय बासिन्दा घाइते भएका छन्। घटनाको गम्भीरतालाई हेर्दै गृह मन्त्रालयले सुनसरीका तत्कालीन प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरूलाई फिर्ता बोलाएर नयाँ टोली खटाएको छ भने घटनाको छानबिन गर्न उच्चस्तरीय समिति समेत गठन गरिसकेको छ।
स्थानीय प्रशासनले जिल्लाबासी सबैलाई सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न तथा कुनै पनि किसिमका हल्लाको पछि नलाग्न विशेष आग्रह गरेको छ।








