मानव र वन्यजन्तुबीचको द्धन्द्धः बर्दियामा मानवीय क्षति निरन्तर बढ्दै

बर्दिया । जैविक मार्ग र सामुदायिक वन क्षेत्र नजिकैका बस्तीहरूमा मानव र वन्यजन्तुबीचको द्वन्द्व चुलिँदै जाँदा बर्दियामा मानवीय क्षति निरन्तर बढ्दै गएको छ। डिभिजन वन कार्यालय, बर्दियाका अनुसार विगत सात वर्षको अवधिमा जैविक मार्ग तथा वरपरका सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाले ज्यान गुमाएका छन्।

विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसँग जोड्ने प्रसिद्ध ‘खाता जैविक मार्ग’ आसपासका क्षेत्रमा वन्यजन्तुको जोखिम उच्च देखिएको छ। कुल क्षतिमध्ये आधा अर्थात् १८ जनाको ज्यान बाघको आक्रमणबाट मात्रै भएको तथ्याङ्कले देखाउँछ।

Advertisement

कामकाजका लागि वन पस्दा बढ्दो जोखिम
स्थानीय बासिन्दाहरू घाँस–दाउरा गर्न, च्याउ तथा निउरो टिप्न र गाईवस्तु चराउन वन क्षेत्रभित्र प्रवेश गर्दा वन्यजन्तुको प्रत्यक्ष निशानामा पर्ने गरेका छन्।

गत आर्थिक वर्षको क्षति: चितुवाको आक्रमणबाट ८, पाटेबाघबाट २ र हात्तीबाट १ गरी कुल ११ जनाको मृत्यु भएको छ।

भौतिक क्षति: बाघ र चितुवाबाहेक हात्तीले भने बस्तीमै पसेर घर भत्काउने, खेतीपाती नष्ट गर्ने र मानिसलाई आक्रमण गर्ने क्रम जारी छ।

बच्ने उपाय : आनीबानीमा सुधार र सचेतना
वन्यजन्तुबाट हुने यस्ता क्षति रोक्न स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

“जङ्गल आसपास बस्ने मानिसहरूले आफ्नो दैनिक आनीबानी र व्यवहारमा परिवर्तन ल्याउनु नै वन्यजन्तुको आक्रमणबाट बच्ने पहिलो उपाय हो। पालिकाले सर्वसाधारणलाई सचेत गराउन निरन्तर प्रचार-प्रसार गरिरहेको छ।”

— तेजबहादुर भाट, प्रमुख, मधुवन नगरपालिका

वन कार्यालय र स्थानीय तहले वन क्षेत्र नजिक जाँदा उच्च सतर्कता अपनाउन र एक्लै जंगल नपस्न स्थानीयलाई आग्रह गर्दै आएका छन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु