सुनसरी — सुनसरीको देवानगञ्ज गाउँपालिका–३ मा गत आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र नेपाल सरकारबीच ७ बुँदे सहमति भएको छ । घटनाको ५ दिनपछि घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङले मृतकका परिवारसँग सहमति गरेका हुन् ।
सम्झौता पत्र
आज मिति २०८३ श्रावण १४ गते देवानगञ्ज गाउँपालिका, वडा नं. ३, कसानगञ्जमा गत श्रावण १० गते भएको दुःखद् घटनामा परी मृत्यु भएका ओम प्रकाश मेहता र जय प्रकाश मेहताको अभिभावकहरू (पहिलो पक्ष) र गृह मन्त्रालय (दोस्रो पक्ष) बीच तपसिल बमोजिमका शर्तहरू पूरा गर्ने गरी भएको सम्झौता:
Advertisement
दोस्रो पक्षले पहिलो पक्षले राखेका निम्नानुसारका मागहरू यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
क. मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने । साथै मृतकका परिवारलाई रु. १०,००,०००/- (अक्षरेपी दश लाख मात्र) नेपाल सरकारको तर्फबाट उपलब्ध गराउने ।
ख. २०८३ साल श्रावण १० गते राति देवानगञ्ज-३, कसानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी उपर प्रचलित कानून बमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अगाडि बढाउने ।
ग. देवानगञ्ज गाउँपालिका-३, स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयहरूबारे आवश्यक छानबिन तत्काल प्रारम्भ गर्ने ।
घ. प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारको अवसर उपलब्ध गराउने ।
ङ. उक्त घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसहरू प्रचलित कानून बमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने ।
च. मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने ।
छ. भोलि मिति २०८३/०४/१५ गते दिनको २:०० बजे मृतकको अन्तिम संस्कार गर्ने ।
हस्ताक्षर तथा सहीछाप
पहिलो पक्षको तर्फबाट:
मृतक ओमप्रकाश मेहताका अभिभावक: (हस्ताक्षर)
मृतक जयप्रकाश मेहताका अभिभावक: नरेश मेहता (हस्ताक्षर तथा औंठाछाप)
दोस्रो पक्षको तर्फबाट:
माननीय गृहमन्त्री श्री सुधन गुरुङ्ग (हस्ताक्षर)








