
काठमाडौं। विश्व भेटेरिनरी संघ (WVA) का अध्यक्ष डा. इसाओ कुराउचीको नेपाल भ्रमणका अवसरमा नेपाल भेटेरिनरी एसोसिएसन (NVA) ले अन्तर्राष्ट्रिय सहकार्यलाई नयाँ उचाइमा पुर्याउँदै महत्वपूर्ण कूटनीतिक तथा प्राविधिक उपलब्धि हासिल जनाएको छ।
भ्रमणका क्रममा विश्व तथा क्षेत्रीय भेटेरिनरी संस्थासँग उच्चस्तरीय छलफल तथा दुई महत्वपूर्ण समझदारीपत्र (MoU) सम्पन्न भएको नेपाल भेटेरिनरी एसोसिएसनले जनाएको हो ।
Advertisement
साउन १८ गते नेपाल भेटेरिनरी एसोसिएसन (NVA), फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका अफिस (FOF)तथा जापान भेटेरिनरी मेडिकल एसोसिएसन(JVMA) बीच भेटेरिनरी शिक्षा, अनुसन्धान, जनस्वास्थ्य, One Health अवधारणाको प्रवद्र्धन, प्राविधिक ज्ञान आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम, सेमिनार, अनुसन्धान तथा प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित समझदारीपत्र (MoU) मा हस्ताक्षर सम्पन्न भएको हो।यसै अवसरमा नेपाल भेटेरिनरी एसोसिएसन(NVA) र विश्व भेटेरिनरी संघ (ध्ख्ब्) बीच पनि भेटेरिनरी शिक्षा, क्षमता विकास, संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने विषयमा छुट्टै समझदारी सम्पन्न भएको छ।

समझदारीपत्रअनुसार सहभागी संस्थाहरूले भेटेरिनरी शिक्षा, अनुसन्धान, प्राविधिक ज्ञान आदान–प्रदान, संयुक्त तालिम तथा One Health अवधारणाको प्रवद्र्धनमा सहकार्य गर्ने सहमति गरेका छन्। यसबाट नेपालका भेटेरिनरी चिकित्सकहरूको क्षमता अभिवृद्धि, पशु स्वास्थ्य सेवा सुदृढीकरण, खाद्य सुरक्षा तथा जनस्वास्थ्य संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष डा. केदार सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एसोसिएसनका प्रमुख सम्पादक डा. हिमाल लुइँटेलले गरेका थिए। कार्यक्रममा विश्व भेटेरिनरी संघका अध्यक्ष डा. इसाओ कुराउची तथा उहाँको प्रतिनिधिमण्डल, कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामनन्दन तिवारी, नेपाल भेटेरिनरी काउन्सिलका अध्यक्ष डा. हेमराज अवस्थी, नेपाल कृषि अनुसन्धान परिषद् (NARC) की वरिष्ठ वैज्ञानिक डा. निना अमात्य, नेपाल भेटेरिनरी एसोसिएसनका पूर्वअध्यक्षहरू डा. सितलकाजी श्रेष्ठ, डा. प्रह्लाद सापकोटा र डा. विमलकुमार निर्मल,FAVAको GEDSI कार्यक्रम प्रतिनिधि डा. सम्झना काफ्ले, नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रीय कार्यसमिति तथा पशुपन्छी विकास क्षेत्रसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूको सहभागिता रहेको नेपाल भेटेरिनरी एसोसिएसनका सचिव डा बिशाल पोख्रेलले बताएका छन।
नेपाल भेटेरिनरी एसोसिएसनका महासचिव डा. शंकर न्यौपानेले यी समझदारीहरू नेपालको भेटेरिनरी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै अन्तर्राष्ट्रिय सहकार्यबाट प्रविधि, अनुसन्धान, दक्ष जनशक्ति विकास तथा One Health अवधारणाको प्रभावकारी कार्यान्वयनमा नयाँ अवसर सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो।
नेपाल भेटेरिनरी एसोसिएसनले विश्व भेटेरिनरी संघ (WVA), जापान भेटेरिनरी मेडिकल एसोसिएसन (JVMA) तथा फेडेरेसन अफ एसियन भेटेरिनरी एसोसिएसन–वन हेल्थ फुकुओका अफिस (FOF)प्रति सहयोग र विश्वासका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेपालको भेटेरिनरी सेवा, जनस्वास्थ्य तथा One Health अभियानलाई सुदृढ बनाउन सहकार्यलाई निरन्तरता दिने जनाएको छ।








