देशभर ग्यासको चरम अभाव, उपभोक्तालाई दाउरा खोज्नुपर्ने बाध्यता

काठमाडौं /ईकान्तिपुर — राजधानी काठमाडाैंसहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ ।मागअनुसार आपूर्ति हुन नसक्दा उपभोक्ताले खाली सिलिन्डर र पैसा बुझाएपछि पनि एक सातादेखि १० दिनसम्म प्रतीक्षा गर्नुपरेको छ ।

ग्यास अभावले घरपरिवारदेखि होटल व्यवसायसम्म प्रभावित भएका छन् भने कतिपय उपभोक्ता दाउरा बाल्न बाध्य भएका छन् । ग्यास अभावले होटल व्यवसाय र डे‍रामा बस्नेहरु सबैभन्दा बढी प्रभावित बनेका छन् ।

Advertisement

सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा बाबुराजा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सन्तोष बस्नेतले जिल्लाका कुनै डिलरमा नपाएर जाजरकोटबाट ७.१ किलोको आधा सिलिन्डर २ हजार रुपैयाँमा किन्नुपरेको बताए । शारदा–८ सिमखर्कका वीरबहादुर बोहराले दुल्धरापोखरास्थित ग्यास पसलमा खाली सिलिन्डर र पैसा बुझाएको एक साताभन्दा बढी भइसक्यो । उनी दैनिक पसलमा पुगेर वा फोन गरेर ग्यास आउने मिति सोधिरहेका छन् । तर अझै भरिएको सिलिन्डर पाएका छैनन् । यस्तै समस्या जिल्लाभरि देखिएको छ । १४.२ किलोको सिलिन्डरका लागि उपभोक्ताले सातादेखि १० दिनसम्म कुर्नुपरेको छ ।

उद्योग वाणिज्य संघ सल्यानका अनुसार जिल्लाका १० स्थानीय तहमा भेरी, राप्ती र मनकामना कम्पनीका ८ हजारभन्दा बढी ग्यास सिलिन्डर प्रयोगमा छन् । तर एक महिनामा २ हजारभन्दा बढी सिलिन्डर आपूर्ति हुन नसकेपछि अभाव चर्किएको हो। स्थानीय सुशीला बस्नेतले १० दिनअघि खाली सिलिन्डर बुझाए पनि ग्यास नपाएपछि दाउरामा खाना पकाउन थालेको बताइन् । वर्षायाममा भिजेको दाउरा बाल्दा धुवाँका कारण स्वास्थ्यमा समेत असर परेको उनको गुनासो छ ।

उद्योग वाणिज्य संघ सल्यानका उपाध्यक्ष राजेन्द्र भण्डारीले सम्बन्धित निकायसँग पटक–पटक समन्वय गरे पनि आपूर्ति सहज हुन नसकेको बताए । कम्पनीले आफ्नै ढुवानी नगरी बिक्रेतालाई गाडी रिजर्भ गरेर ग्यास ल्याउन बाध्य बनाउँदा ढुवानी खर्चसमेत बढेको र त्यसको असर उपभोक्तामा परेको उनको भनाइ छ । ग्यास बिक्रेता हिमाल श्रेष्ठले कम्पनीसँग निरन्तर समन्वय गरे पनि आउने सिलिन्डर केहीबेरमै सकिने भएकाले माग पूरा गर्न नसकिएको बताए ।

 

लमजुङ सदरमुकाम बेंसीसहरमा उपभोक्ताहरु ग्यास आउने दिन पर्खेर बसेका हुन्छन् । ग्यास आएको दिन यहाँका डिलरमा लाइन लाग्ने गरेको छ । माग अनुसार नआउने भएकाले केही उपभोक्ताले रित्तो समेत फर्कनु परेको छ । लमजुङबाटै ग्यास ढुवानी हुने मनाङमा झन् समस्या गम्भीर छ । बेंसीसहर–मनाङ सवारी चालक सोम मग्रातीले १ सय सिलिन्डर मागे २० मात्रै पाइरहेको बताए ।

बेंसीसहरस्थित ग्यास बिक्रेता प्रभु सप्लायर्सका सञ्चालक प्रभुराम प्रधानले कम्पनीबाट आउने आपूर्ति नै घटेकाले समस्या भएको बताए । उनका अनुसार सामान्य अवस्थामा सातामा कम्तीमा दुई ट्रक ग्यास आउने गरे पनि पछिल्लो समय एउटा ट्रक मात्र आइरहेको छ । कसैले बढी र कसैले नपाउने अवस्था नहोस् भनेर नाम दर्ता गरेर वितरण गर्नुपरेको उनले बताए ।

मनाङ–मर्स्याङ्दी ग्रुपका अध्यक्ष ईश्वरप्रसाद श्रेष्ठले सामान्य अवस्थामा सातामा चार ट्रकसम्म ग्यास आउने गरे पनि अहिले एउटा ट्रकमा करिब ३ सय ४० सिलिन्डर मात्रै आएको बताए । लमजुङ र मनाङ दुवै जिल्लाको माग धान्न यो पर्याप्त नभएको उनको भनाइ छ । आवश्यकताभन्दा बढी सिलिन्डर घरमै भण्डारण गर्ने प्रवृत्तिले पनि अभाव बढाएको उनले बताए ।

 

गोरखामा पनि केही दिनयता ग्यास अभावका कारण उपभोक्ता र होटल व्यवसायी समस्यामा परेका छन् । गोरखा नगरपालिका–६ छहरेमा डेरा गरी बस्ने सुनमायाँ गुरुङ तीन दिनसम्म ग्यास खोज्दै विभिन्न पसल पुगे पनि खाली हात फर्किनुपरेको बताइन् । ग्यास सकिएपछि पानी तताउनसमेत छिमेकीको घर धाउनुपरेको उनको भनाइ छ ।

गुनासो बढेपछि सोमबार सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा नेतृत्वको टोलीले ग्यास डिलर र गोदामको अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश डिलरमा भरिएका सिलिन्डर नभई खाली सिलिन्डर मात्रै भेटिएका थिए । गोरखा नगरपालिका–६ स्थित गणेश भाँडा पसलमा मासिक ८ हजार सिलिन्डरको कोटा रहे पनि ४ हजार ७ सय ४८ सिलिन्डर मात्र आएको पाइएको छ । अन्य डिलरमा पनि खाली सिलिन्डर थुप्रिएको अवस्था भेटिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले ग्यास आउने क्रम जारी रहेकाले एक साताभित्र अवस्था सहज हुन सक्ने बताए ।

लगातार घट्दो आपूर्ति, बढ्दो माग र ढुवानी व्यवस्थापन समस्याका कारण पहाडी जिल्लामा ग्यास अभाव दोहोरिन थालेको व्यवसायीहरूको भनाइ छ । उपभोक्ताले भने नियमित आपूर्ति सुनिश्चित गर्न सरकार र सम्बन्धित कम्पनीहरूले तत्काल प्रभावकारी व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

नेपाल आयल निगमले उपभोक्ताले अनावश्यक संचिति गर्दा कृत्रिम अभावको स्थिति सिर्जना भएको जनाएको छ । निगमले शनिबार विज्ञप्तिमार्फत बजारमा १४.२ केजी एलपी ग्यास अभाव नरहेको स्पष्ट पार्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक मौज्दात नगर्न पनि आग्रह गरेको थियो ।

देशभर मासिक ४५ देखि ४६ टन ग्यास खपत हुने निगमको तथ्यांक छ । अमेरिका, इजराइल-इरान युद्धका कारण ग्यास आपूर्तिमा भएको असहज अवस्थाका कारण निगमले २९ फागुन २०८२ देखि आधा सिलिण्डर ग्यास (७.१ केजी) बिक्री गर्ने निर्णय गरेको थियो । आपूर्तिमा कुनै समस्या नआउने भएपछि ३१ असार २०८३ देखि निगमले साविककै १४.२ केजी ग्यास दिने निर्णय गरेको थियो ।

निगमका प्रवक्ता मनोज ठाकुर भरी सिलिन्डर (१४.२ केजी)मा जाने भएपछि उक्त ग्याप फुलफिल गर्न समय लाग्ने देखिनु स्वाभाविकै भएको बताउँछन् । भारतबाट नियमित रुपमा ग्यास आपूर्ति भइरहेकाले उद्योगबाट बिक्रेतासम्म पुगे पनि खाली सिलिन्डर धेरै भएकाले बिक्रेताकोमा जाने बित्तिक्कै सकिने भइरहेको ठाकुरले बताए । निगमले बिक्रेतालाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखी खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको अभिलेख राखेर व्यवस्थित रूपमा बिक्री–वितरण गर्न पनि आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु