मृगलाई बचाउने क्रममा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना, आगलागी हुँदा जलेर नष्ट

रौतहट । पूर्व पश्चिम राजमार्ग रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक मृगलाई बचाउने क्रममा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर अनियन्त्रित भई  दुर्घटनापछि ट्याङ्करमा अचानक आगलागी भएको थियो। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी सत्यनारायण थापाको कमाण्डमा १० जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट इन्स्पेक्टर राजेन्द्र थापा मगरको कमाण्डमा ५ जना गरी १५ सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

Advertisement

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाको दमकलको सहयोगमा बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि कुनै मानवीय क्षति भएको छैन। महेन्द्र राजमार्गमा सवारी आवागमन भने सामान्य अवस्थामा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

ट्याङ्कर चालक बारा जिल्लाको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई ट्राफिक प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब १३ किलोमिटर पश्चिममा पर्छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु