रूपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। रास्वपाले शनिबार र आइतबार विभिन्न कार्यक्रम गरेको हो।
Advertisement
रास्वपा रूपन्देहीले शनिबार रूपन्देहीको भैरहवामा रक्तदान, निःशुल्क दन्त परीक्षण, पार्टीमा पदहस्तान्त्रण, सम्मान र पार्टी प्रवेश कार्यक्रम गरेको जिल्ला सभापति महेन्द्र उपाध्यायले जानकारी दिनुभयो। कार्यक्रममा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका चार हजार नेता-कार्यकर्तालाई सम्मानसहित पदहस्तान्त्रण गरिएको र एक हजार जना अन्य पार्टीका नेता-कार्यकर्तालाई रास्वपामा प्रवेश गराइएको उपाध्यायले बताउनुभयो।
कार्यक्रममा रास्वपाका केन्द्रीय महामन्त्री विपिनकुमार आचार्यले नवप्रवेशीलाई पार्टीमा स्वागत गर्नुभएको थियो। विशाल जनसहभागितामा भएको कार्यक्रममा यस क्षेत्रका सबै शीर्ष नेता उपस्थित हुनुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री आचार्यले अब आउने प्रदेश र स्थानीय तहको निर्वाचनको तयारी थाल्न पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो। उहाँले रास्वपाले नागरिकको विश्वासमाथि कहिल्यै कुठाराघात नगर्ने भन्दै देश बनाउन समय लाग्ने र नागरिकको साथ सधैँ जरुरी रहेको उल्लेख गर्नुभयो।
महामन्त्री आचार्यले आफूले गलत गरे प्रश्न गर्न पनि आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “हामीले गलत गर्दा प्रश्न गर्न नहिचकिचाउनुहोला, तपाईँको प्रश्नले हामीलाई बलियो बनाउँछ।” आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा पनि रास्वपालाई साथ दिन उहाँले आग्रह गर्नुभयो।
त्यस्तै रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सुलभ खरेलले देशमा रहेको बेथिति रोक्न सकिए मात्र परिवर्तन ल्याउन सकिने बताउनुभयो।
कार्यक्रममा पार्टीका प्रतिनिधि सभा सदस्य डा. लेखजङ्म थापाले पार्टीले लिएको भ्रष्टाचारको अन्त्य, सुशासन र समृद्धिको यात्राको लक्ष्य पूरा गर्न सबैको साथ आवश्यक रहेको उल्लेख गर्नुभयो।
पार्टीकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग जनताको ठूलो अपेक्षा रहेको बताउनुभयो। कार्यक्रममा करिब पाँच हजार नेता-कार्यकर्ताको सहभागिता रहेको रास्वपा नेता नारायण भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार आइतबार पनि पार्टी नेताहरूको भेटघाट जारी रहेको छ। गोरखापत्र अनलाइन








