काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको जनाएको छ । त्यस्तै उक्त प्रदेशका आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा अहिले मध्यमदेखि भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
Advertisement
महाशाखाका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ। विशेष गरी लुम्बिनी प्रदेशको तराई भूभागमा भारी वर्षा भइरहेको र ती आसपासका क्षेत्रमा अझै थप वर्षा हुने सम्भावना रहेको छ।
भोलि शुक्रबार दिउँसोसम्म कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान महाशाखाले गरेको छ।
भारी वर्षा भइरहेका क्षेत्रहरूमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्राकृतिक प्रकोपको जोखिम उच्च रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।
वर्षा र सम्भावित विपद्का कारण नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुन सक्ने सम्भावना रहेको छ।








