नेपालगन्ज — पश्चिम नेपालकै प्रमुख अस्पतालको रुपमा रहेको नेपालगन्जस्थित भेरी अस्पतालमा जनावर, वन्यजन्तु तथा जीवहरुको टोकाइबाट बिरामी भएर उपचार गराउन आउनेको रेकर्ड राखेर ‘बाइट रजिस्टरी’ सञ्चालनमा ल्याएर अनुसन्धान सुरु गरिएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार अध्ययन, अनुसन्धान र प्रमाणमा आधारित चिकित्सा प्रणालीको विकास गर्ने उद्देश्यले यो अनुसन्धान सुरु गरिएको हो । उनले विद्युतीय स्वास्थ्य अभिलेखमा आधारित अनुसन्धान प्लेटफर्मअन्तर्गत पहिलो संस्थागत परियोजनाका रूपमा यो प्रणाली सुरु गरिएको बताए ।
Advertisement
सो अध्ययन अनुसन्धान अस्पतालका प्रमुख कन्सल्टेन्ट डर्मेटोलोजिस्ट डा. बद्री चापागाईंको नेतृत्वमा सुरु गरिएको छ । अनुसन्धान टोलीमा अस्पतालका मेडिसिन विभाग प्रमुख डा. राजन पाण्डे, एनेस्थेसियोलोजी विभाग प्रमुख डा. पारश पाण्डे, कन्सल्टेन्ट फरेन्सिक मेडिसिन विशेषज्ञ डा. अर्बिन शाक्य, कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसाल, कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा. सौरभ हमाल र कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. प्रतिभा खड्कालगायतका स्वास्थकर्मी रहेका छन् ।
साउन १६ देखि सुरु गरिएका यो अनुसन्धान प्रारम्भिक रूपमा एक वर्षसम्म सञ्चालन हुने छ । ‘अध्ययनमा कुकुरलगायत अन्य जनावरको टोकाइ, सर्पदंश, किराफट्यांग्रा तथा अन्य विषाक्त वा हानिकारक जीवजन्तुसँग सम्बन्धित घटनाको एकीकृत अभिलेख राख्ने छौं,’ प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालले भने,‘ रेबिज खोप, रेबिज इम्युनोग्लोबुलिन तथा एन्टि स्नेक भेनमको उपलब्धता, उपयोग, प्रभावकारिता र जनस्वास्थ्यमा पर्ने प्रभावको पनि अध्ययन गरिने छ ।’
यसले गर्दा नियमित उपचारको क्रममा नै तथ्यांक दर्ता हुने भएकाले बिरामी वा स्वास्थ्यकर्मीलाई कुनै अतिरिक्त भार पर्ने छैन । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालका अनुसार यस अध्ययनबाट प्राप्त निष्कर्षले उपचार सेवाको गुणस्तर अभिवृद्धि, सेवा सुधार, उपचार निर्देशिकाको परिमार्जन र स्वास्थ्य सम्बन्धी नीति निर्माणमा सहयोग पुग्ने छ ।
यसले राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र तथा मानव बस्तीमा भइरहेका वन्यजन्तुजसँग सम्बन्धित घटनाको समेत अध्ययनमा सघाउ हुने अस्पतालले जनाएको छ। अस्पतालका अनुसार यो अनुसन्धानका लागि आवश्यक तथ्यांक संकलन हालको प्रणालीसँग अन्तरआबद्ध गरिएको छ ।ईकान्तिपुर ।








