सांसदहरुको माग- भदौ ७ गतेभित्रै लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ

 

 

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुरसिंह थारु र करिश्मा कठरियाले भदौ ७ अघि टीकापुर घटनाबारेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै प्रतिनिधिसभा सदस्य थारुले भदौ ७ गतेअघि प्रतिवेदन सार्वजनिक गरी दोसीलाई कारवाही गर्न माग गर्नुभयो । टीकापुर घटना घटेको ११ वर्ष भइसक्दा समेत सरकार यसमा गम्भीर नबनेको भन्दै उहाँले वर्तमान सरकारलाई आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

टीकापुर घटनाले थारु समुदायलाई पोलिरहेको बताउँदे उहाँले निर्वाचनताका स्थानीय नागरिकसँग लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता गरिएकाले वर्तमान सरकारले सो काम गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । प्रतिवेदन सार्वजनिक गर्न नसके कारणसहितको प्रष्टिकरण सदनलाई जानकारी गराउन उहाँले सुझाउनुभयो ।

“भदौ ७ अघि गृहमन्त्रीज्यूलाई सदनमा आएर प्रतिवेदन सार्वजनिक गर्न म जोरदार माग गर्दछु” उहाँले भन्नुभयो । थारु समुदाय चुप लागेर बस्दा समुदायको कमजोरी सरकारले सम्झिन नहुने उहाँले बताउनुभयो ।

त्यस्तै, रास्वपाकै अर्का सांसद करिष्मा कठरियाले ११ वर्षअघि घटेको टीकापुर घटनापछि संयौं थारुमाथि झुठा मुद्दा जारी रहेकाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरी निर्दोस थारुहरुलाई न्याय दिन उहाँले माग गर्नुभयो । उहाँले भदौ ७ अघि नै प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । “भदौ ७ को घटना थारु समुदायका लागि कालो दिन हो । मुलुकमा व्यवस्था बदलियो तर भूमिपुत्रमाथि अन्याय गरेर कसरी संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहन सक्छ ?”

२०७२ साल भदौ ७ गते टीकापुर घटना हुँदा ८ जनाको ज्यान गएको थियो । सो घटनाको छानविन गर्न तत्कालीन न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । गोरखापत्र अनलाइन

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु