युवालाई विकासका साझेदार बनाउनुपर्नेमा जोड

नेपालगन्ज- युवा घर नेपालगन्जको पाँचौँ बार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन बुधवार सम्पन्न भएको छ । संस्थाले वर्षभरी गरेका कार्यक्रमको समिक्षा तथा भावि कार्ययोजना तय गर्दै सो साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि अम्बिका काफ्लेले युवाहरूको क्षमता, सीप र सिर्जनशीलतालाई समाज र राष्ट्र निर्माणमा जोड्नुपर्ने बताइन्।

युवालाई अवसर र जिम्मेवारी प्रदान गर्न सके उनीहरू विकासका महत्वपूर्ण साझेदार बन्न सक्ने उल्लेख गर्दै उनले युवा लक्षित कार्यक्रमलाई प्रभावकारी र परिणाममुखी बनाउन तीनै तहका सरकार तथा गैरसरकारी संस्थाबीच सहकार्य आवश्यक रहेको बताइन्। युवाहरूलाई नेतृत्व विकास, सीपमूलक शिक्षा, रोजगारी र उद्यमशीलतासँग जोड्दै उनीहरूको भविष्य सुरक्षित बनाउने कुरामा युवा घरले काम गर्दै आएको बताउदै आगामी दिनमा सशक्त भएर काम गर्नुपर्ने उनको भनाइ थियो।

Advertisement

कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले युवाहरूको सहभागिताबिना देशको समग्र विकास सम्भव नहुने बताए। युवाहरूलाई नीति निर्माणदेखि कार्यान्वयन तहसम्म अर्थपूर्ण सहभागिता गराउनुपर्नेमा जोड दिँदै उनले युवाको क्षमता र ऊर्जालाई सही दिशामा परिचालन गर्न गैरसरकारी संस्था, स्थानीय सरकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताए। युवा घर नेपालगन्जले युवाको क्षमता विकास, नेतृत्व निर्माण र सामाजिक क्षेत्रमा सक्रिय सहभागिताका लागि गर्दै आएको भूमिकालाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले युवाको क्षमता विकास र सकारात्मक परिचालनका लागि स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। युवाका आवश्यकता र चाहनालाई सम्बोधन गर्ने गरी शिक्षा, सीप, खेलकुद, रोजगारी तथा नेतृत्व विकासका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। स्थानीय तहले युवालाई विकासका लाभग्राहीका रूपमा मात्र नभई विकास निर्माणका साझेदारका रूपमा अघि बढाउन आवश्यक रहेको उल्लेख गर्दै युवा घर नेपालगन्जजस्ता संस्थासँग सहकार्य र समन्वयलाई अझ मजबुत बनाउँदै लैजाने बताए। कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. १द्ध का वडा अध्यक्ष मजहर अली शाइले युवाको क्षमता र ऊर्जालाई सकारात्मक क्षेत्रमा परिचालन गर्नुपर्ने बताए।

युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिँदै युवालाई सामाजिक विकासमा सक्रिय सहभागी गराउनुपर्ने उनको भनाइ थियो।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का कार्यबाहक वडा अध्यक्ष सोहन वर्मा नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, लगायतले शुभकामना दिएका थिए ।
युवा घरका सदस्य शिव कुमार वर्माले संचालन गरेको कार्यक्रममा उपाध्यक्षा वसन्ती रोकायाले स्वागत गरेका थिए । कार्यक्रममा युवा घरका अध्यक्ष भण्डारीले संस्थाले गरेका कार्यक्रम तथा भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
युवा घरको अध्यक्षमा वर्मा
बुधबार सम्पन्न युवा घरको तेश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । अधिबेशनको बन्द सत्रबाट शिव कुमार वर्माको अध्यक्ष्यतामा संस्थाको नयाँ कार्यसमितिको चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा वसन्ती रोकाया, सचिवमा रबिन्द्र बोहरा, कोषाध्यक्षमा शोभा थापा मगर, सहसचिवमा रमिता शाह चयन भएका छन् भने सदस्यमा क्रमश शुद्ध चौधरी, विवेक पराजुली, मनिष कर्माचार्य, सरीफ धोवि , प्रदिप बोहरा,मिना घर्ती चयन भएका छन् ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु