बारा । तीन वर्षीया बालिका हत्याको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलिप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राखेर स्थानीयले वीरगञ्ज(पथलैया सडकमा अवरोध कायमै राखेका छन् । उक्त सडक खण्ड बुधाबर दिउँसो यता अवरुद्ध छ ।
Advertisement
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार अवरुद्ध सडक खुलाउने विषयमा बुधबार पटकपटक छलफल भएको बताए । तरनि आन्दोलनरत पक्षले अघि सारेका माग सम्बोधन गर्न नसक्ने अवस्था आएपछि नतिजा निस्कन नसकेको उनले जनाए ।
बलात्कारपछि हत्या गरिएकी जीतपुरसिमरा उपमहानगरपालिका १ की गरिमा चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप छ ।
इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदा पनि खोजीमा चासो नदिँदा बालिकाको हत्या भएको भन्दै स्थानीयले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको माग अघि सारेका छन् ।
प्रहरीले बालिका हराएको तीन दिनसम्म खोजी गर्न नसकेको, परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ ।
स्थानीयले शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । मंगलबार साँझ शव भेटिएपछि प्रहरीले २ जनालाई पक्राउ गरेको छ । परिवारले शव भेटिनु अघि नै सोही २ जना विरुद्ध किटानी जाहेरी दिएका थिए ।








