दांग । लुम्बिनी प्रदेशमा पछिल्लो साढे दुई महिनाको अवधिमा मनसुनजन्य विपद्का कारण ८५ जनाको मृत्यु भएको छ। जेठ १८ देखि भदौ ३ गतेसम्म घटेका ९१ वटा विपद्का घटनामा १३ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन्।
प्रदेशमा पानीमा डुबेर मात्रै ५८ जनाको ज्यान गएको छ भने पहिरोबाट २०, बाढीबाट ४ र चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ।
Advertisement
विपद्बाट सबैभन्दा बढी रोल्पा जिल्ला प्रभावित भएको छ, जहाँ चार स्थानीय तहमा गरी २० जनाले ज्यान गुमाएका छन्। थवाङमा मात्रै १२ जनाको मृत्यु भएको छ भने जिल्लाभर ३१८ घरधुरी उच्च जोखिममा परेका छन्।
यसैबीच, प्रदेश विपद् व्यवस्थापन परिषद्ले सुस्तामा नदी कटान नियन्त्रणका लागि २५ लाख र रोल्पामा बाढीले भत्काएको सडक तथा पुल मर्मतका लागि ५० लाख रुपैयाँ निकासा गरेको छ। नेपालगञ्जबाट राहत सामग्री रोल्पा पठाइएको छ भने मुख्यमन्त्री चेतनारायण आचार्यले पीडितलाई राहत वितरणमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ।








