काठमाडौँ । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) का कारण चौतर्फी आलोचना भएपछि सरकारले महसुल घटाउने तयारी थालेको छ।
यसका लागि गठित विद्युत् महसुल दर पुनरावलोकन समितिको तोकिएको १५ दिनको समयावधि सकिएकाले म्याद थप गर्ने तयारी भइरहेको छ। समितिका संयोजक अंशुकिरण शाहीका अनुसार अध्ययनको काम नसकिएकाले केही समय थपेर प्रतिवेदन बुझाउन लागिएको हो।
Advertisement
समितिले वर्षायाममा खेर जाने बिजुलीलाई सदुपयोग गर्न र खपत बढाउन सिजनल ट्यारिफ लागू गर्ने विषयमा अध्ययन गरिरहेको छ। यसअन्तर्गत उद्योगीहरूलाई सस्तो दरमा बिजुली उपलब्ध गराउने र त्यसको साटो उद्योगहरूले पनि सर्वसाधारणका लागि आफ्ना उत्पादन सस्तो बनाउनुपर्ने सर्त राख्ने तयारी गरिएको छ।
यसैगरी, अर्थ मन्त्रालयसँग समन्वय गरेर १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्तालाई सहुलियत दिने र विद्युत् महसुलमा लगाइएको भ्याट हटाउने वा परिमार्जन गर्ने विषयमा पनि छलफल भइरहेको पुनरावलोकन समितिले जनाएको छ।








