काठमाडौँ । वैदेशिक रोजगारीमा विभिन्न युरोपेली मुलुक पठाउने नाममा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने झापाकी सुष्मा भण्डारी, सिन्धुलीकी करिना देवकोटा र झापा दमकका साजन खनाल पक्राउ परेका हुन्।
Advertisement
उनीहरूले चेक रिपब्लिक, लिथुआनिया र फिनल्यान्डजस्ता देशहरूमा आकर्षक तलबको लोभ देखाएर कुल १९ लाख ८५ हजार रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको छ। लामो समयसम्म विदेश पनि नपठाई सम्पर्कविहीन बनेका उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रामेश्वर कार्कीका अनुसार पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।a








