नेपालगन्ज- जेष्ठ नागरिक महिलाको स्वास्थ्य, सक्रिय जीवनशैली र मनोसामाजिक सुस्वास्थ्यप्रति सचेतना जगाउने उद्देश्यले नेपालगन्जमा ‘दौडिन्छन् हजुरआमा’ कार्यक्रमको दोस्रो संस्करण आयोजना हुने भएको छ।
सम्यक हब मिडिया प्रालिको आयोजना र नाट्टा बाँके च्याप्टरको सहआयोजनामा भदौ २१ गते सो कार्यक्रम हुन लागेको हो। धारा नेपालगन्ज म्याराथनको प्राविधिक सहयोगमा हुने यस अभियानका लागि निःशुल्क सहभागिता दर्ता खुला भइसकेको छ।
Advertisement
कार्यक्रमअन्तर्गत ५० वर्ष उमेर पूरा गरेका हजुरआमाहरूले नेपालगन्जको वीपीचोकदेखि धम्बोझी चोकसम्मको एक हजार एक मिटर दूरी पार गर्नेछन्। दौडअघि सहभागीका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श शिविरसमेत सञ्चालन गरिनेछ।
यस वर्ष दौडका साथै हजुरआमाहरू र नयाँ पुस्ताका छोरीहरूबिच जीवनका अनुभव र भोगाइ साटासाट गर्न ‘भन्छिन् हजुरआमा’ शीर्षकमा अन्तरपुस्ता संवाद पनि सञ्चालन गरिने आयोजकले जनाएको छ। गत वर्ष आयोजित पहिलो संस्करणमा १५० भन्दा बढी हजुरआमाहरूले उत्साहजनक सहभागिता जनाएका थिए।








