बाँके- कोहलपुर–११ शान्तिनगरस्थित नगर विकास समितिको जग्गाबाट विस्थापित भएका बासिन्दा र कोहलपुर नगरपालिकानिच दुईबुँदे सहमति भएको छ।
सुकुम्वासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति र नगरपालिकाबिच सोमबार भएको वार्तामा वास्तविक भूमिहीन र अव्यवस्थित बसोबासीको पहिचानका लागि संयुक्त छानबिन टोली गठन गर्ने निर्णय भएको हो। गठित छानबिन टोलीमा सङ्घर्ष समितिका प्रतिनिधिसमेत रहनेछन् भने उक्त टोलीले १० दिनभित्र नगरप्रमुखसमक्ष प्रतिवेदन पेस गर्नुपर्नेछ।
Advertisement
प्रतिवेदनका आधारमा भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको आर्थिक तथा भौगोलिक अवस्था हेरेर वर्गीकरण गरिनेछ। २०८३ वैशाख २६ गते डोजर लगाएर हटाइएका विस्थापितहरू पुनः सोही ठाउँमा पाल टाँगेर बस्न थालेपछि दुवै पक्षबिच सौहार्दपूर्ण वातावरणमा संवाद भएको हो।
कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार वास्तविक पीडितलाई प्राथमिकताका आधारमा व्यवस्थापन गरिनेछ भने अन्यत्र जग्गा भएका व्यक्तिहरूलाई व्यक्तिगत संरचना बनाउन नदिई नियमानुसार कारबाही गरिनेछ। नगरपालिकाको २०८० भदौको लगतअनुसार सो क्षेत्रमा ४१६ अव्यवस्थित बसोबासी, १७२ भूमिहीन दलित र १६३ भूमिहीन सुकुम्वासी परिवार सूचीकृत रहेका छन्।








