काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभा बैठकमा कालो चस्मा लगाउनुपर्ने कारणसहितको स्वास्थ्य परीक्षण प्रतिवेदन सङ्घीय संसद् सचिवालयमा बुझाउनुभएको छ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार प्रधानमन्त्री कार्यालयबाट उक्त स्वास्थ्य प्रतिवेदनसहितको पत्र प्राप्त भएको पुष्टि भएको छ। यसअघि सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् बैठकभित्र कालो चस्मा लगाउन निषेध गरिएको र विशेष स्वास्थ्य कारण भएमा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने निर्णय गर्नुभएको थियो।
Advertisement
सोही निर्णयबमोजिम छाउनीस्थित सैनिक अस्पतालमा गराइएको आँखा परीक्षणमा उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने समस्या देखिएकाले चिकित्सकको सिफारिसअनुसार प्रतिवेदन बुझाइएको हो। बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको छ। प्रतिनिधिसभा नियमावलीको नियम ५६ बमोजिम सञ्चालन हुने सो कार्यक्रमका लागि ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराइसकेका छन्। उक्त प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन संसद् भवन जाँदा प्रधानमन्त्री शाहले कालो चस्मा प्रयोग गर्नुहुनेछ।








