दांग – लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहका बिच प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभएको हो।
गठबन्धन दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सिफारिसमा दाङका इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना मन्त्री, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’लाई स्वास्थ्य मन्त्री र बर्दियाकी कृष्णाकुमारी थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ।
Advertisement
केन्द्रमा भएको सहमतिअनुसार मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि नेकपाले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीहरूको नाम सिफारिस गरेको थियो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणसँगै लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ।








