काठमाडौँ। विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी) लेरसुवामा आएको बाढी तथा पहिरोमा परी ८२६ जना सम्पर्कविहीन भएको जनाएको छ।
Advertisement
सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । यस्तै, रसुवाबाट १६१, नुवाकोटबाट एक जना र पर्यटक ५७९ जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
बाढी तथा पहिरोमा फसेका १०४ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना रहेका छन्।
यसैगरी, विभिन्न जिल्लामा गरी १६५ वटा शव फेला परेको एनईओसीले जनाएको छ। फेला परेका शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनहुँमा नौ, चितवनमा ६४ र नवलपरासी पश्चिममा पाँच वटा रहेका छन्। चितवनमा फेला परेका शव नारायणी नदी किनारबाट भेटिएका हुन्। केही शवको पहिचान हुन बाँकी रहेको छ।
बाढी तथा पहिरोमा परी ७३ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवाका ४३, धादिङका तीन र नुवाकोटका २७ जना छन्।
उद्धार तथा राहत कार्यमा नेपाल प्रहरीका तीन हजार ३१५ र सशस्त्र प्रहरी बल नेपालका एक हजार २३७ जना जनशक्ति परिचालन गरिएको छ। नेपाली सेनाका छ र सशस्त्र प्रहरी बल नेपालका नौ गरी जम्मा १५ वटा हेलिकोप्टर उद्धारमा परिचालन गरिएको एनईओसीको विवरणमा उल्लेख छ।
एनईओसीको विवरणमा ५७९ पर्यटकसमेत उल्लेख छन्, जसमा ११३ नेपाली र ४६६ विदेशी नागरिक रहेका छन्।








