काठमाडौँ । नेपालमा कम्तीमा सयभन्दा बढी हिमताल फुट्ने उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन्।
बढ्दो विश्वव्यापी तापक्रमका कारण हिउँ पग्लिने र नयाँ हिमताल बन्ने क्रम तीव्र भएसँगै हिमतालको जोखिम बढेको हो। वैज्ञानिक डा. नितेश खड्काका अनुसार नेपालतर्फ रहेका दुई हजार तीन सयभन्दा बढी हिमतालमध्ये अधिकांश गेग्रान र माटोको बाँधमा बनेकाले जतिबेला पनि फुट्न सक्ने खतरा छ। सन् २०२० मा इसिमोड र यूएनडीपीले गरेको अध्ययनले २१ वटा हिमताललाई उच्च जोखिममा देखाएको भए पनि हाल यो संख्या बढेर सयभन्दा बढी पुगेको विज्ञहरूको दाबी छ।
Advertisement
नेपालमा विशेष गरी कोसी र दुधकोशी जलाधार क्षेत्रका हिमतालहरू बढी जोखिममा रहेका छन्। यसैगरी अरुण, भोटेकोशी, तामाकोशी, बुढीगण्डकी र हुम्ला कर्णालीका मुहान तिब्बतमा रहेकाले तिब्बततर्फका हिमताल फुट्दा पनि नेपालका तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्ने जोखिम छ।
विज्ञहरू डा. अरुणभक्त श्रेष्ठ र प्राध्यापक डा. रिजनभक्त श्रेष्ठले यसअघि इम्जा र च्छो रोल्पा हिमतालको जलसतह घटाएजस्तै अन्य जोखिमयुक्त तालहरूको पनि समयमै जोखिम न्यूनीकरण गर्नुपर्नेमा जोड दिनुभएको छ। सम्भावित धनजनको क्षति रोक्न तत्काल पूर्वसूचना प्रणाली (Early Warning System) को विकास र विस्तार गर्न आवश्यक रहेको उहाँहरूको भनाइ छ।








