त्रिशूली थ्री-‘ए’ आयोजनाको सुरुङ भेटियो, अक्सिजनसहित उद्धार टोली भित्र पठाउने तयारी

 

काठमाडौं — नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको त्रिशूली थ्री–‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीहरूको उद्धारमा ठूलो सफलता मिलेको छ। निरन्तर तीन दिनको अथक प्रयासपछि उद्धार टोलीले विद्युत् गृहबाट तार बाहिर निकाल्न प्रयोग गरिने ‘केबल एक्सेस टनेल’ फेला पारेको छ।

Advertisement

नेपाल विद्युत् प्राधिकरणका कायममुकायम (कामु) प्रबन्ध निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार नेपाली सेना, प्राधिकरणका प्राविधिक तथा सुरुङ विज्ञहरूको संयुक्त टोलीले उक्त सुरुङ पहिल्याएको हो। अब सुरुङको प्रवेशद्वार (पोर्ट) सफा गरी अक्सिजन र क्यामेरासहित उद्धार टोलीलाई भित्र पठाउने अन्तिम तयारी भइरहेको छ।

“यो सुरुङबाट उद्धारकर्मी भित्र प्रवेश गर्न र फसेका मानिसहरूलाई बाहिर निकाल्न सम्भव छ,” कामु प्रबन्ध निर्देशक श्रेष्ठले भने, “अघिल्लो दिन नै हावा पठाउने प्वाल पारिएकाले भित्र रहेकाहरू सकुशल होलान् भन्ने आशा छ। हामी छिटोभन्दा छिटो उद्धार गर्ने प्रयासमा छौँ।”

सुरुङभित्र प्रवेश गर्ने उद्धारकर्मीहरूसँग विशेष क्यामेरा पनि पठाइनेछ, जसबाट बाहिर रहेका टोलीले भित्रको अवस्था प्रत्यक्ष नियाल्न सक्नेछन्। पोर्टबाट करिब १८० मिटर अगाडि बढेपछि प्राविधिकहरू काम गरिरहेको सम्भावित स्थानमा पुग्न सकिने अनुमान गरिएको छ। त्यहाँ पुगेपछि मात्र भित्रको वास्तविक स्थिति, उद्धारार्थीहरूको अवस्था र सुरक्षाको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुनेछ।

यसअघि उद्धार टोलीले सुरुङभित्र अक्सिजन पुर्‍याउनका लागि पाँचवटा ड्रिल (प्वाल) बनाएको थियो। उद्धार कार्यको स्थलगत नेतृत्व गरिरहेका सांसद तथा सुरुङविज्ञ श्रीराम न्यौपानेले पनि टनेल भेटिएको पुष्टि गर्दै उद्धार प्रयास तीव्र पारिएको बताएका छन्।

आयोजनाको जमिनमुनि रहेको विद्युत् गृह (पावर हाउस) ओभरहलिङको काम गरिरहेका बेला बाढीका कारण करिब ४० देखि ४२ जना उच्च विज्ञ तथा प्राविधिक कर्मचारीहरू सुरुङभित्र थुनिन पुगेका हुन्। बाढी आएको दुई दिनपछि शुक्रबारदेखि मात्र उद्धार कार्य सुरु गर्न सकिएको थियो। पाँच दिन बितिसक्दा पनि सुरुङ छिचोल्न नसकिँदा भित्र फसेकाहरूको अवस्थालाई लिएर चिन्ता बढेको भए पनि सुरुङ भेटिएसँगै उद्धारको आशा पलाएको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु