काठमाडौं । त्रिशूली–थ्री ‘ए’ आयोजनाको सुरुङमा उद्धारको काम गरिरहेको टोली अझै पनि भित्तो फोडेर भित्र प्रवेश गर्न सकेन ।
आइतबार सुरुङ पत्ता लागेपछि भित्र प्रवेश गर्नेमा आशावादी भएको उद्धार टोली सुरुङको भित्रसम्म लेदो र पानी भरिएको पाइएपछि सोमबार पनि छिर्न नसकेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिए ।
Advertisement
सुरुङमा खन्ने क्रममा भित्रबाट सिपेज भएको पानी बाहिर निस्किरहेको तथा सँगँसँगै लेदो पनि भरिएको पाइएपछि सुरुङको भित्ता थप काट्नुपर्ने अवस्था आएको उनले जानकारी दिए ।
‘अहिले जुन ठाउँमा एक्सेस टनेलमा काटेर काम भइरहेको छ, त्यसको १ सय ८३ मिटर भित्र पावर हाउस छ, कर्मचारीहरू जीवितै रहेको भए सोही पावर हाउसमा भेटिने आशा छ, त्यही भएर भित्र प्रवेश गर्न हरसम्भव प्रयास गरिरहेका छौं,’ उनले भने ।
हरेक भूमिगत विद्युत् गृहमा सिपेज भएर पानी निस्कने गर्छ । सो पानीले विद्युत् गृहमा क्षति नपुगोस् भनेर मोटर लगाएर बाहिर निकाल्ने गरिन्छ । तर, बाढीका कारण विद्युत् उत्पादन बन्द भएपछि त्यो पानी जमेर बाहिर आइरहेको तिम्सिनाले बताए ।
‘यो आयोजनाबाट मानिसहरूलाई जीवितै उद्धार गर्न सकिन्छ कि भन्ने विश्वास भएकाले अधिकतम् प्रयास जारी राखेका छौं,’ उनले भने ।
उद्धारस्थलमा खटिएका एक अधिकारीका अनुसार सुरुमा उपकरण र जनशक्ति नै पुर्याउन नसक्दा सुरुङबाट उद्धारमा ढिलाइ भइरहेको हो । ‘सुरुमा अन्यत्रबाट एक्साभेटर नै लैजान सकिएन, त्यही नजिकै भेटिएका तर बिग्रेका दुईवटा एक्साभेटर मर्मत गरी काम सुरु गरियो, बल्ल सेनाको टोलीले तेस्रो एक्साभेटर सोमबार पुर्याएको छ,’ उनले भने, ‘अन्य उपकरण पनि ढिलागरी मात्रै पुर्याउन सकियो । अब त्यहाँ चाहिने उपकरणको कमी नभएकाले चाँडै भित्र पठाउन सकिन्छ होला,’ उनले भने ।
अहिलेभन्दा धेरै एक्साभेटर भइदिइएको भए अझै छिटो काम हुने उनको विश्वास छ ।
तीन दिनदेखि निरन्तर उद्धारमा खटेको टोलीले आइतबार ‘केबल एक्सेस टनेल’ फेला पारेको थियो । त्यो सुरुङबाट उद्धार टोलीले बिजुली बाल्ने तथा भित्र फसेका मानिसहरूको संकेत लिने प्रयास गरेपनि हालसम्म कुनै संकेत प्राप्त नभएको स्रोत बताउँछ ।
तर, सिपेज भएको पानी बाहिर आइरहेको देखिएकाले भित्र भएका मानिसहरू जीवित रहेको भए उनीहरूलाई पिउने पानी उपलब्ध रहेको स्रोत बताउँछ ।
‘अब लेदो छिरेर पावरहाउस नपुरेको भए मानिसहरूलाई जीवितै उद्धार गर्न सकिने आश बढेको छ । पावर हाउसमा १५ दिनलाई पुग्ने अक्सिजन हुन्छ, पानी पनि खान पाएका छन् भने मानिसहरू जीवितै हुने सम्भावना हुन्छ,’ उनले भने ।
भित्र धेरै डेब्रिस नथुप्रिएको भए भोलिसम्म भित्रको भाग क्लियर गर्नसकिने विश्वास उनको छ ।
नेपाल विद्युत प्राधिकरणको ६० मेगावाटको त्रिशुली ‘थ्री–ए’ परियोजना सञ्चालनमा रहेको परियोजना हो । यो परियोजना बन्द गरी विद्युत प्राधिकरणले सम्पूर्ण मर्मत अर्थात् ओभरहलिङको काम गरिरहेको थियो ।
त्यसो हुँदा आयोजनाको भूमिगत विद्युत् गृहमा ४० देखि ४२ जना उच्च सीपयुक्त इन्जिनियरहरूले काम गरिरहेका थिए । त्यही बेला बाढीले आयोजनाको माथिल्लो र तल्लो सुरुङ पुरेको छ । अहिले उद्धारको प्रयास गरिरहेको टोलीले विद्युत् गृहबाट तार निकाल्ने केबल टनेलबाट भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ ।अनलाईन खबर ।








