नेपालगन्ज — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले ५ लाख ६० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
Advertisement
संघका नवनिर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीका अनुसार नवनिर्वाचित पदाधिकारी तथा कर्मचारीहरूबाट सो रकम संकलन गरिएको हो। विपद्को यस घडीमा बाढीपीडितलाई सहयोग गर्नु संघको प्रमुख दायित्व भएको उल्लेख गर्दै अध्यक्ष ओलीले संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत रसुवा र नुवाकोटका बाढीपीडितसम्म पुर्याइने जानकारी दिए।
नेपालगन्ज उद्योग वाणिज्य संघले यसअघि पनि देशमा पर्ने विभिन्न प्राकृतिक विपत्तिका बेला अग्रसर भएर सहयोग हस्तान्तरण गर्दै आएको छ।








