बर्दिया/ईकान्तिपुर — भोटेकोशीको बाढीमा फसेका बारबर्दियाका २३ जना घर पुगेका छन् । रसुवाबाट उद्धार भएपछि बारबर्दियाका २३ जना आइतबार पाँचौ दिनमा घर पुगेका हुन् ।
बाढीमा फसेका बारबर्दिया नगरपालिका–२ का ३८ वर्षीय कृष्णप्रसाद चौधरी उद्धारपछि आइतबार राति घर पुगे । बाढीबाट बल्लतल्ल ज्यान जोगाएर उनी घर पुग्दा आफन्तहरुको उदास अनुहारमा चमक देखियो । रसुवामा विनासकारी बाढीको खबरले हाम्रो होस नै उडेको कृष्णप्रसादकी श्रीमती बिमा चौधरीले बताइन् । ‘बुधबार दिउँसो अरुको मोबाइलबाट श्रीमान्ले बाढी आएको र आफु बल्लतल्ल बाँचेको खबर गर्नुभएको थियो,’ उनले भनिन्, ‘तर उहाँको मोबाइलमा फोन सम्पर्क नहुँदा मन धेरै आत्तिएको थियो । उहाँसँगै गएका गाउँ अन्य व्यक्तिहरुको घरमा गएर केही खबर आयो की आएन छिनछिनमा सोधपुछ गरे ।’ श्रीमान् घर पुगेपछिमात्रै ढुक्कको सास फेरेको उनले सुनाइन् ।
Advertisement
कृष्णप्रसाद धान रोपाइँ सकेर साउन अन्तिममा रसुवाको मैलुङस्थित अपर त्रिशूली–१ हाइड्रोपावरमा मजदुरी गर्न गएका थिए । बाढीबाट जोगिएर आउँदा मृत्युको मुखबाट फर्केको जस्तै लागिरहेको उनले बताए । ‘त्यो दिनको त्रास बिर्सन नसकिने खालको छ । अहिले सम्झिदा पनि धेरै डर लागिरहेको छ,’ उनले भने ।
गत बुधबार बिहान अन्य दिन जस्तै चिनियाँ ग्रुप लिडरको नेतृत्वमा १५ जनाको नेपाली टोली सुरुङमा छिरेर काममा व्यस्त भएका बेला काम गर्न सुरुङमा छिरेका बाढी आएको कृष्णप्रसादले बताए । ‘हाम्रो टोलीभन्दा ५० मिटरको दुरीमा अर्को समूह काम गरिरहेको थियो । त्यो दिन सुरुङमा पिसीसी गर्नका लागि हामीहरु सरसफाईको काममा थियौं,’ उनले भने, ‘बिहान साढे ९ बजे सुरुङ बाहिर रहेका आयोजनाका एक चिनियाँ कर्मचारीले बाढी आएको वाकीट्वाकीमार्फत् टिम लिडरलाई खबर गरे । हामी सुरुङबाट बाहिर कसरी छिटो निस्कने आत्तियौं । एकैछिनमा कम्पनीको गाडी सुरुङमा आयो र हामीलाई लिएर बाहिर निकाल्यो । हामी बाहिर निस्कने बित्तिकै बाढीको ठूलो भेल सुरुङमा पस्यो ।’
घाँस समाउँदै भीर पाखामा चढेर मुस्किलले ज्यान जोगाएको चौधरीले सुनाए । ‘हाम्रो टिमका साथीहरु भीर पाखामा चढेर भाग्न सफल भए । तर, सोही आयोजनामा काम गर्ने अन्य साइडका चिनियाँ, भारतीय, कोरियन र धेरै नेपाली साथीहरु देखिएनन्,’ उनले भने । दुई रात खुला आकाशमुनि काटेपछि हेलिकप्टरले उद्धार गरी नुवाकोट पुगाएपछि बाँचिने आस पलाएको चौधरीले बताए । चाँडबाँड नजिकिँदा बालबच्चालाई लत्ताकपडाको खर्च जुटाउन खेती लगाएर हाइड्रोमा मजदुरी गर्न गएका उनले संयोगले बाँचेर फर्किएको बताए ।
अपर त्रिशूलीकै अर्को साइडको सुरुङमा काम गरिरहेका बेला एक्कासी जोरले हावा आएर बाढी आएको बारबर्दिया नगरपालिका–१ का कुसुमडाँडाका ४६ वर्षीय जगतराम चौधरीले बताए । ‘हावापछि सुरुङमा अचानक लेदोसहित पानीको भेल आयो र खुट्टामा लगाएको गमबुटमा माटो भरियो,’ उनले भने, ‘धौधौ गरी खुट्टाबाट गमबुट निकालेर बल्लतल्ल माथिको सानो प्वालबाट निस्किएर ज्यान बचाउन सफल भए । हामी काम गर्ने साइडका सिरहातिरको एक जना सहकर्मी त सुरुङबाट निस्कन सक्नुभएन ।’
बारबर्दिया नगरपालिका–१ का ३३ वर्षीय राजकुमार चौधरीले सुरुङ बाहिर तलतिर काम गरिरहेका बेला माथिबाट साथीले हतारिदै फोन गरेर बाढी आएको खबर गरेकाले भाग्न सफल भएको सुनाए । आफूहरु बस्ने क्याम्प पूरै पुरिँदा कुनै सामान नबचेको उनले बताए ।
बाढीबाट बल्लतल्ल जोगिएर घर फर्किँदै गर्दा नवलपुरमा ट्रकसँग बस ठोक्किँदा अर्को ठूलो दुर्घटनाबाट बाँचेको जगतरामले बताए । बस दुर्घटना हुँदा २३ जनामध्ये १९ जना घाइते भएका छन् । कसैको टाउको, कसैको हात र कम्मरमा चोट लागेको छ । ‘हाम्रा मान्छेहरु घर फर्किँदा धेरै खुसी लागेको छ तर आसपास गाउँका धेरै मान्छे त सम्पर्कमा छैनन् । सरकारले उनीहरुको पनि छिटो खोजी उद्धार गरोस्,’ जगतरामकी श्रीमती तुलरानी चौधरीले भनिन् । भोटेकोशीको बाढीपछि बर्दियाका ७८ जना सम्पर्कमा आउन सकेका छैनन् ।








