काठमाडौँ, भदौ १७ — रसुवामा स्थित २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका आशंका गरिएका २५ जना कामदारको खोजीका लागि उद्धार टोलीले वैकल्पिक प्रवेशमार्ग (नयाँ बाटो) तयार पारेको छ।
Advertisement
सुरूङको मुख्य बाटो ढुङ्गा, माटो र लेदोले ठप्प भएपछि प्राविधिक टोलीले खाली ‘पेनस्टक पाइप’ प्रयोग गरी नयाँ बाटो बनाएको हो। हाइड्रो-मेकानिकल इन्जिनियरसहितको टोलीले पाइपभित्र १५० मिटर माथि पुगेर मानिस छिर्न मिल्ने ‘म्यानहोल’ (प्रवेशद्वार) तयार पारेको छ।
म्यानहोल बनिसके पनि बुधबार भीषण वर्षाका कारण जोखिम बढेकाले टोली तत्काल भित्र पस्न सकेन। मौसम अनुकूल भएमा नेपाली सेनाको टोली बिहीबार बिहानै सोही म्यानहोल हुँदै सुरूङभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्यलाई अघि बढाउने तयारीमा छ।
आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार भोलि मध्यान्ह १२ बजेसम्म उद्धारको ठोस परिणाम आउने अपेक्षा गरिएको छ। म्यानहोलबाट भित्र छिरेपछि मात्रै सुरूङभित्र फसेका २५ जनाको वास्तविक अवस्था स्पष्ट हुनेछ।








