भोटेकोशी बाढी प्रभावितका लागि ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार:
एसियाली विकास बैंक (ADB) बाट भोटेकोशी बाढी प्रभावित जनताको तत्काल आपतकालीन उद्धार तथा राहतका लागि प्राप्त हुने ५ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सरकारले निर्णय गरेको छ।
Advertisement
व्यवसाय पुनर्स्थापना योजना र सहुलियत घोषणा:
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यापार-व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन एकीकृत व्यवसाय पुनर्स्थापन योजनाअन्तर्गत राहत, कर तथा महसुलमा सहुलियत उपलब्ध गराइने भएको छ।
खटिने सुरक्षाकर्मी र कर्मचारीलाई भत्ता तथा राहत:
उद्धार तथा खोजकार्यमा खटिएका सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च र घाइते भएमा निःशुल्क उपचार गरिने भएको छ। साथै, ज्यान गुमाएका कर्मचारीका परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत दिने निर्णय गरिएको छ।
२२ भदौमा राष्ट्रिय शोक र २३ भदौमा सार्वजनिक बिदा:
भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउँदै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली दूतावासहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यस्तै, भदौ २३ गते ‘जेनजी शहीद दिवस’का अवसरमा देशभर सार्वजनिक बिदा दिइने भएको छ।
२५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति:
बजारमा अभाव हुन नदिन साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १ प्रतिशत भन्सार महसुलमा कुल २५ हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति प्रदान गरिएको छ।
प्रशासनतर्फ नयाँ सचिव बढुवा:
नेपाल प्रशासन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा नारायणप्रसाद भट्टलाई बढुवा गरी कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मुख्यसचिवमा पदस्थापन गरिएको छ।








