नुवाकोट- भोटेकोशीको भीषण बाढीपछि नुवाकोटस्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनाको १०औं दिनमा जीवितै उद्धार गरिएको छ।
Advertisement
नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले विदेशी उद्धारकर्मीहरूको समेत सहयोगमा उनीहरूको आज सफल उद्धार गरेको हो। उद्धार गरिएकाहरू काठमाडौंका कबिर महर्जन र सप्तरीका सञ्जय साह रहेका छन्।
भित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएलगत्तै सुरक्षाकर्मीको टोली सुरुङभित्र प्रवेश गरी उद्धारलाई तीव्रता दिएको थियो। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको जानकारी घटनास्थलमै रहेका रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानेले दिनुभएको छ। उहाँका अनुसार यो एउटा ठूलो आशाको संकेत थियो।
सुरुङभित्र झण्डै आधाआधी पहुँच सुरुङ (Access Tunnel) मा दुवै जना अड्किएका थिए। उद्धार गरिएकामध्ये कबिर महर्जन कुलेखानी जलविद्युत् आयोजनाबाट मर्मतसम्भारका लागि त्यहाँ गएका थिए भने सञ्जय साह त्रिशूली ३ ‘ए’ मै सिफ्ट ड्युटीमा कार्यरत हुनुहुन्थ्यो। साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुभरभाइजर हुन्।
१०औं दिनसम्मको निरन्तरको प्रयास र आशापछि यो सफल उद्धारले हराइरहेका अन्यको परिवारमा पनि आश जगाएको छ। घटनास्थलमा उद्धार कार्य अझै जारी छ।








