काठमाडौँ । रसुवामा बाढीपहिरिपछि माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका १९१ जना कर्मचारी तथा श्रमिकहरूको खोजी कार्य जारी छ। तर सडक अवरुद्ध हुँदा उद्धारका लागि ठूला उपकरण घटनास्थलसम्म पुर्याउन निकै सास्ती भएको छ।
Advertisement
सम्पर्कविहीनहरूको खोजीका लागि अहिले आयोजनास्थलमा तीनवटा साना एस्काभेटरले भग्नावशेष तथा ठूला ढुंगा हटाउने काम गरिरहेका छन्। यद्यपि, हालसम्म मानिस वा भवन रहेको कुनै पनि संरचना भेटिन सकेको छैन।
उद्धारबारे थप जानकारी दिँदै आयोजनाकी उपनिर्देशक लीला अर्याल भन्नुहुन्छ, “अहिले तीनवटा साना एस्काभेटरले खनिरहेका छन्, तर अहिलेसम्म बिल्डिङ कहाँ छ भन्ने नै भेटिएको अवस्था छैन। साना मेसिनबाट आउटपुट आउन गाह्रो छ। त्यसैले ठूला एस्काभेटरका पार्टपुर्जा छुट्याएर लैजाने र घटनास्थलमै जडान गरेर काम गर्ने विकल्पबारे पनि सोचिरहेका छौँ।”
सडक खुलाएर ठूला उपकरण लैजान डाँडा काट्ने काम भइरहे पनि ढिलाइ भएपछि मेकानिक टोली र सडक डिभिजनसँग समन्वय गरी उपकरणका पार्टपुर्जा अलग-अलग गरेर पुर्याउने प्रयास भइरहेको छ।
यस्तै, अडिट टनेलभित्रका काठ तथा अन्य अवरोध हटाएर अडिट-२ तर्फबाट पनि भग्नावशेष पन्छाउने योजना बनाइएको छ।
स्थलगत खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको आफ्नै टोली निरन्तर खटिरहेको छ।








