डाँका पक्रेको खुसीयालीमा बन्दुक पड्काउँदा एक प्रहरी जवान घाइते

 

जनकपुरधाम, मंसिर ९/  महोत्तरीमा प्रहरी चौकी इन्चार्जको पेस्तोल पड्केर गोली लाग्दा एक प्रहरी जवान घाइते भएका छन्।  सेतोपाटिका अनुसार एकडारा गाउँपालिका–४ स्थित हलखोरी प्रहरी चौकीका इन्चार्ज असई रामईश्वर प्रसाद यादवको पेस्तोल पड्केर प्रहरी जवान राजेशकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

Advertisement

प्रहरी स्रोतका अनुसार डाँकालाई पक्रेर ल्याएको खुसीयालीमा असई यादवले पेस्तोल पड्काएका थिए। गत कात्तिक २० गते राति साढे दुई बजे जलेश्वर नगरपालिका—८ स्थित रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा डकैती तथा अन्य अपराधिक घटनामा संलग्न रहेका आरोपीलाई गत कात्तिक २८ गते रौतहटको गरूडाबाट असई यादव नेतृत्वको प्रहरी टोलीले पक्राउ गरेको थियो।

विभिन्न आपराधिक घटनामा संलग्न भई फरार भएका डाँका आरोपी सर्लाहीको लालबन्दी नगरपालिका—२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई प्रहरीले नियन्त्रण्मा लिन सफल भएको थियो।

त्यसैको खुशीयालीमा प्रहरी चौकीमा खानपिन गरी कात्तिक ३० गते राति असई यादव लगायतका प्रहरीले रमाइलो गरेका थिए।

असई यादवले पेस्तोल हात्तमा लिएर रमाइलो गर्दागर्दौ अचानक गोली पड्केको थियो।

घटना ढाकछोप गर्न असई यादवले प्रहरी जवान साहलाई उपचारका लागि भारतीय अस्पताल पुर्याएका थिए। त्यहाँ डाक्टरले गोली लागेको देखेपछि भारतीय प्रहरीलाई खबर गरेका थिए। प्रहरी जवान साह सप्तरीका बासिन्दा हुन्। भारतीय प्रहरीले सप्तरी प्रहरीलाई फोन गरेर जानकारी गराएपछि घटना बाहिरिएको खुलेको छ।

यो घटना हिजो दिउँसो (शुक्रवार) मात्रै आफूहरूलाई थाहा भएको महोत्तरीका एसपी प्रकाश मल्लले बताए। उनका अनुसार दुबै जनाले घटना बाहिर नल्याउने आपसी सहमती गरेका थिए। डाँक्रा पक्रेर ल्याएको खुसीयालीमा पेस्तोल पड्केको कुरा झूटो रहेको उनको दाबी छ।

‘पेस्तोल राति सुत्नेबेला सिरानीमुनि राख्छ त्यसैले नपडकोस भनेर सुत्नुअघि प्रहरीले हतियार क्लियर गछ। एक्सिडेन्टली पेस्तोल पड्कियो। भित्तामा गोली लाग्यो। त्यो गोली भित्तामा ठोक्किएर बाँया पाखुरामा लाग्न गएको हो। एसपी मल्लले भने, ‘दुई जनाले सहमतीमै त्यो घटना प्रहरी कार्यालयमा रिपोर्ट गरेनन्। प्रारम्भिक अनुसन्धानमा यही देखिएको छ। विस्तृत कुरा अनुसन्धान सकिए पछि आउँछ।’

घटनाबारे जिल्ला प्रहरी कार्यालयमा उनीहरूले रिपोर्टिंङ नगरेर लापरबाही गरेकाले असई यादवलाई निलम्बन गर्ने तयारी भइरहेको उनले बताए।

 

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु