बर्दिया — भोटेकोशी बाढीपछि रसुवामा काम गर्न गएका र सम्पर्कविहीन भएका बर्दियाका ७६ जनाको अवस्था अझै अज्ञात छ । आफन्तको खोजीमा घटनास्थलदेखि विभिन्न अस्पतालसम्म पुगे पनि कुनै पत्तो नलागेपछि परिवारजन अहिले डीएनए परीक्षणबाट पहिचान खुल्ने आशामा छन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बर्दियाले आइतबार सम्पर्कविहीन व्यक्तिका आफन्तको डीएनए परीक्षणका लागि नमुना संकलन गरेको छ । बर्दिया अस्पतालको सहयोगमा गरिएको नमुना संकलनमा ५५ जना आफन्त सहभागी भएका छन् । सम्पर्कविहीन व्यक्तिको पहिचान खुलाउन उनीहरूका बुवा, आमा वा छोराछोरीमध्येबाट नमुना संकलन गरिएको हो ।
जिल्ला प्रहरी बर्दियाका डीएसपी रेशम बोहराका अनुसार तीन जना सम्पर्कविहीनका आफन्तले भने यसअघि नै बाहिरी जिल्लामा डीएनए नमुना दिइसकेका छन् । ‘डीएनए परीक्षणका लागि तीन जनाका आफन्तले बाहिरी जिल्लामा नमुना दिइसकेको जानकारी प्राप्त भएको छ,’ उनले भने, ‘माथिल्लो निकायसँग समन्वय गरी परीक्षणका लागि संकलन गरिएको नमुना पठाइनेछ ।’
भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म बर्दियाका ७६ जना सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासनिक अधिकृत एवं विपद् सम्पर्क व्यक्ति लोकप्रसाद ढकालले जानकारी दिए । उनीहरू रोजगारीका लागि रसुवाका विभिन्न क्षेत्रमा पुगेका थिए । बाढीपछि परिवार र आफन्तसँग सम्पर्क टुटेपछि उनीहरूको खोजी भइरहेको छ ।
डीएनए नमुना दिन आइतबार छोरीलाई लिएर जिल्ला प्रहरी कार्यालय पुगेकी बारबर्दिया नगरपालिकाकी सीताकुमारी चौधरी बेहाल अवस्थामा थिइन् । भोटेकोशी बाढीपछि उनका श्रीमान् खक्काप्रसाद थारु सम्पर्कमा आएका छैनन् । श्रीमान्को खोजीमा उनी चितवनसम्म पुगेकी थिइन्, तर कतै पत्ता नलागेपछि खाली हात फर्किनुपर्यो । ‘भदौ १० गते बिहान साढे ६ बजेतिर कुरा हुँदा काममा जाँदै छु भन्नुभएको थियो,’ उनले भनिन्, ‘त्यसयता श्रीमान्को अत्तोपत्तो छैन ।’ श्रीमान्को कुनै खबर नपाएपछि सीताकुमारी अहिले डीएनए परीक्षणबाट भए पनि उनको अवस्था खुल्ने आशामा छिन् ।
यस्तै, गेरुवा गाउँपालिकाका समशेरबहादुर थारु पनि सम्पर्कविहीन छोराको पहिचानका लागि डीएनए नमुना दिन जिल्ला प्रहरी कार्यालय पुगेका थिए । बाढीपछि छोराको कुनै अत्तोपत्तो नलागेपछि उनले डीएनए परीक्षणका लागि नमुना दिएका हुन् । ‘बाढीपछि छोराको अत्तोपत्तो छैन,’ उनले भने, ‘छोराको पहिचानका लागि डीएनए परीक्षणको नमुना दिएको छु ।’
सम्पर्कविहीनका आफन्तहरु परिचय खुल्ने कागजात लिएर नमुना संकलनको लागि आइतबार जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए । सम्पर्कविहीन व्यक्तिहरु रसुवास्थित रोजगारीको लागि गएका थिए । आफन्तहरु सम्पर्कविहीन हुँदा परिवार नै शोकमा डुबेका छन् ।ईकान्तिपुर








