काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख तथा साना नदीहरूमा जलसतह उल्लेखनीय रूपमा बढ्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
Advertisement
सोमबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायत कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती जस्ता प्रमुख नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तलै छ।
यद्यपि, आगामी तीन दिन कोशी जलाधारका सप्तकोशी, तमोर, अरूण, दुधकोशी, तामाकोशी र सुनकोशीका साथै नारायणी जलाधारका देवघाट, त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती र कालिगण्डकी नदीमा जलसतह तीव्र रूपमा बढ्ने महाशाखाको पूर्वानुमान छ।
यसैगरी कर्णाली, भेरी, पश्चिम सेती, महाकाली र कन्काई नदीमा समेत आगामी तीनै दिन जलसतह बढ्नेछ भने कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीमा बहाव सामान्य रूपमा बढ्ने देखिन्छ।
साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम
कोशी, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, काठमाडौँ उपत्यका (काठमाडौँ, ललितपुर, भक्तपुर), काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, गोरखा, कास्की, सुर्खेत, दैलेख, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दार्चुला लगायत ३७ भन्दा बढी जिल्ला भई बहने साना नदीहरूमा जलसतह बढ्ने महाशाखाले जनाएको छ।
यी क्षेत्रका साना नदीहरूमा आकस्मिक बाढी (Flash Flood) को मध्यम जोखिम रहेकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ। भोलि र पर्सि पनि सातै प्रदेशका केही साना नदीमा बहाव अचानक बढ्न सक्ने सम्भावना छ।








