घर फर्किँदै गरेकी महिलाद्वारा बाटोमै शिशुलाई जन्म, आमा र बच्चाको अवस्था सामान्य

 

बाजुरा- अस्पताल जानुको सट्टा घरतर्फ पैदल हिँडेकी एक महिलाले बाटोमै शिशुलाई जन्म दिनुभएको छ। खप्तडछेडेदह गाउँपालिका–४ की २६ वर्षीया कमला बोगटीले मङ्गलबार दिउँसो बुढीगंगा नगरपालिका–६ स्थित फालासैन बजार माथिको बाटोमा शिशुलाई जन्म दिनुभएको हो।

Advertisement

कृष्ण जन्माष्टमीको अवसरमा माइतीघर बडिमालिका–६ कोर्ध पुग्नुभएकी कमलालाई भदौ २२ गते राति सुत्केरी व्यथा लागेको थियो। विवाहित महिलाले माइतीघरमा बच्चा जन्माए देउता रिसाउँछन् भन्ने परम्परागत सामाजिक अन्धविश्वासका कारण उहाँ नजिकैको स्वास्थ्य संस्था जानुको सट्टा घरतर्फ पैदलै हिँड्नुभएको थियो।

माइतीघरबाट करिब एक घण्टाको दूरीमा जडाङ्गा स्वास्थ्य चौकी र दुई घण्टाको दूरीमा जिल्ला अस्पताल बाजुरा भए पनि उहाँ करिब सात घण्टा पैदल हिँडेर घर फर्किँदै हुनुहुन्थ्यो।

व्यथाले छट्पटाउँदै बाटोमा अलपत्र परेको देखेपछि स्थानीयले स्वास्थ्यकर्मीलाई खबर गरेका थिए। खबर पाउनासाथ बाजुरा स्वास्थ्य चौकी र जिल्ला अस्पतालका स्वास्थ्यकर्मीको टोली घटनास्थल पुगेर प्रसूति सेवाका साथै सालनाल व्यवस्थापन गरेको थियो।

उहाँलाई प्रसूति गराउनुभएकी नर्स निशा रोकाया र सिनियर अनमी ईश्वरी केसीका अनुसार हाल आमा र नवजात शिशु दुवैलाई बाजुरा स्वास्थ्य चौकीमा राखिएको छ र उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु