गुल्मी- अवैध हातहतियार निर्माणमा प्रयोग गरिने ठूलो परिमाणका सामग्री र वन्यजन्तुको आखेटोपहारसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको छत्रकोट गाउँपालिका–मानकोट भ्युडाँडाबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। स्थानीय बुद्धिबहादुर कामीले आरन सञ्चालन गरी भरुवा बन्दुकसहितका हातहतियार बनाउने गरेको र झगबिन कामी तथा प्रेमबहादुर सिंजालीले खरिद गरी घरमा राखेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
Advertisement
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माका अनुसार प्रहरीले आरन तथा घरबाट ४२ थान फलामका बन्दुकको नाल, ९ थान तयारी भरुवा बन्दुक, ड्रिल मेसिन, बारुद, गोलीछर्रा तथा हतियार बनाउन प्रयोग हुने २७ प्रकारका सामग्रीहरू बरामद गरेको छ।
त्यसैगरी, पक्राउ परेकाहरूको साथबाट जङ्गली जनावरको आखेटोपहार, छालाका टुक्रा र हड्डीसमेत फेला परेको छ। प्रहरी निरीक्षक सुदीप नेपालीको कमान्डमा खटिएको टोलीले तीनै जनालाई नियन्त्रणमा लिएर अवैध हातहतियार र वन्यजन्तुको आखेटोपहारसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको छ।








