Advertisement
बीबीसी । “इन्डियन आइडलको मञ्चमा आजसम्म यति मनैदेखि कसैले गाएको देखेकी छैन। मैले तिम्रो स्वरमा ईश्वर देख्न पाएँ। त्यसका लागि यो मञ्च धन्य छ। हामी धन्य भयौँ,” अडिसन राउन्डमा मेनुका पौडेलले गाएको सुनेपछि निर्णायक मध्येकी एक भारतीय गायिका श्रेया घोषालको प्रतिक्रिया थियो।
घोषालले प्रतिस्पर्धीबाट आएको त्यो तहको गायन प्रस्तुतीका लागि आफू तयार नै नरहेको पनि बताइन्।
“ओ पालनहारे तुमहारे बिना हमारा कौनो नहीँ” बोलको गीत मेनुकाले गाइरहँदा निर्णायक श्रेयामात्रै होइन विशाल ददलानीको आँखाबाट बर्बरी आँशु झरे।
मेनुकाले गीत गाइसकेपछि कार्यक्रममा एकछिन सन्नाटा छायो। निर्णायकहरू केही बेर निशब्द भए।
“म सङ्गीतलाई पूजा गर्छु, त्यो सङ्गीत तिमी हौ,” मेनुकाको गायनपछि ददलानीले आफूलाई सङ्गीतसँग माफी माग्नुपर्छ भन्ने लागेको बताए।
“आज पछि मैले जुन सङ्गीत बनाउँछु। त्यो तिम्रो कारणले फरक हुनेछ।”
मेनुकाले आफूलाई ददलानीको सङ्गीत संयोजनमा गाउन मन लागेको बताइन्।
जवाफमा ददलानीले “मेरो भाग्यमा रहेछ भने त्यो पक्का हुन्छ” भने।
‘
अनेकौँ चर्चित गीत गाएर ‘मेलोडी किङको’ सङ्ज्ञा पाएका कुमार सानुले मेनुकाबारे भने, “अरू गायकको जिन्दगीमा सङ्गीत आउँछ। तर तिमीले सङ्गीतमा जीवन ल्याइदियौ।”
जन्मजात दृष्टिविहीन मेनुकाले सुनेको भरमा सङ्गीत सिकेकी हुन्।
उनले कार्यक्रममा तिनै जना निर्णायकबाट पाएको यो तहको प्रशंसा प्रतिस्पर्धाका आखिरी दिनहरूमा नभई अडिसन राउन्डमा हो।
हुन त अहिले उनी केवल उत्कृष्ट १२ मा मात्रै पुगेकी हुन्। तर नेपाल र भारतका सङ्गीतपारखी माझ उनी परिचित नाम बनिसकेकी छन्।
कार्यक्रममा घोषाल, ददलानी र कुमार सानुबाट मात्रै होइन गायनमा प्रसिद्ध अनुराधा पौडवाल, साधना सरगम, कविता कृष्णमूर्ति, ऋचा शर्मा जस्ता गायिकाहरू, लता मङ्गेशकर र आशा भोसलेले गाएका कैयौँ गीतमा सङ्गीत भरेका सङ्गीतकार कल्याणजी र गायक नीतिनमुकेश, चलचित्र निर्देशक महेश भट्ट, कलाकार रणवीर कपुर, रश्मिका मन्दाना लगायतबाट प्रशंसा पाएकी छन्।
माथुरको जन्म शताब्दीको उत्सव मनाइएको कार्यक्रममा अतिथिका रूपमा उनका छोरा नीतिनमुकेश आएका दिन मेनुकाले माथुरको चर्चितमध्येको चर्चित ‘एक प्यारका नगमा है मौजोकी रबानी है’ गीत गाइन्।
मेनुकाले गीत गाइरहँदा नितिनमुकेशले आफूले पनि अन्तिममा गीत गाएर मेनुकालाई साथ दिए।
गीत सकिएपछि अन्त्यमा उनले मेनुकालाई प्रतिक्रिया दिँदै भने, ‘तिमीले धेरै धेरै राम्रो गायौ। मलाई लाग्छ आज मेरो बुवाको आत्माले तिमीलाई धेरै आशिर्वाद दिइरहेको छ।’
विगतका कार्यक्रममा जस्तै श्रेया घोषालले यो कार्यक्रममा पनि मेनुकाको स्वरको तारिफ गरिन्।
“हामीले यो गीत मुकेशजी र लताजी(लता मङ्गेशकर)को स्वरमा सुनेका थियौँ। तिमीले आफ्नो आवाजले यो गीतमा आज चार चाँद लगाइदियौ। यो तिम्रो जादु हो,” घोषालले भनिन्।
त्यस्तै अर्को दिन लता मङ्गेशकरले नै गाएको ‘चन्दन सा बदन चञ्चल चितवन धिरे से तेरा ए मुस्कान’ बोलको गीत गाउँदा कार्यक्रममा उपस्थित उक्त गीतका सङ्गीतकार कल्याणजीले मेनुकालाई लता मङ्गेशकरसँग जोडेर प्रतिक्रिया दिए।
“मेनुकाजी, यति सही गाउनुभयो तपाईँले, कसैको देन नभई यो सम्भव छैन। लताजीसँग जस्तो आशिर्वाद थियो यस्तो लाग्दैछ तपाईँसँग पनि छ। तपाईँसँग ईश्वर खुसी छन्। लताजीले पनि यसैगरी शब्दसँग खेल्नुहुन्थ्यो सधैँ। लताजीलाई तपाईँले भेटेको भए आज उहाँ कति खुसी हुनुहुन्थ्यो होला। भगवानले रक्षा गरून्,” कल्याणजीले मेनुकालाई भने।
कल्याणजीले मेनुकालाई अहिले जस्तो प्रतिक्रिया दिए कुनै बेला बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले पनि लता मङ्गेशकरलाई लगभग त्यसैगरी भनेका पाइन्छ।
सन् २००४ मा उनले बीबीसीमा मङ्गेशकरबारे लेखेका थिए, “मैले उनको आवाजमा भगवान्को आशीर्वाद देखेँ।”
उक्त कार्यक्रममा सँगै आएका अर्का अतिथिले मेनुकाको स्वर सुनिसकेपछि उनका लागि सङ्गीतकारले गीत बनाउने दाबी गरे।
यो गीत जस्तै मेनुकाले लता मङ्गेशकर, आशा भोसले, अनुराधा पौडवाल, अल्का याग्निकजस्ता गायिकाहरूका सदाबहार चर्चित गीतहरू र भजनहरू नै कार्यक्रममा गाउँदै आएकी छन्।
मेनुकाले सत्यम् शिवम् सुन्दरम् गीत गाइसकेपछि घोषालले पनि भनेकी थिइन्, “तिम्रो स्वर नै सत्यम् शिवम् सुन्दरम्” छ।
निर्णायक ददलानीले त्यही कार्यक्रममा मेनुकाको स्वरमाथि प्रतिक्रिया जनाउन सक्ने औकात आफूसँग साँच्चै नभएको बताएका थिए।
मेनुकाले इन्डियन आइडलको मञ्चमा जस्तो प्रतिक्रिया पाएकी छन्। नेपालका धेरै स्थापित गायकगायिका तथा सङ्गीतकारका लागि लोभ्याउने खालको छ।
जसको गीत एकान्तमा बसेर अभ्यास गर्थिन् तिनै गायिकाहरूसँग मेनुकाले मञ्चमा गाउने मौका पनि पाएकी छन्।
सङ्गीतप्रति जीवन समर्पित गर्ने जो कसैले कल्पनामात्रै गर्नसक्ने त्यस्तो कुरा मेनुकाले यथार्थमा भोग्न पाएकी छन्।
मानिसहरूले उनी अहिले इन्डियन आइडल पुगेको देखेका छन्। उनले मौन रहेर एकान्तमा वर्षौँदेखि गर्दै आएको साधना भने निकै कमलाई थाहा होला।
उनले भोगिरहेको जीवन नेपाल र भारतका सङ्गीत पारखीका लागि लोभलाग्दो देखिए पनि त्यहाँसम्म पुग्न मेनुकाले गरेको सङ्घर्ष जो कसैले गर्न नसक्ने उनलाई नजिकबाट चिन्नेहरू बताउँछन्।
गायनको चस्को
झापाको हल्दिबारीमा सामान्य परिवारमा जन्मिएकी मेनुका जन्मजात दृष्टिविहीन हुन्।
उनका आमाबुवा र दुई बहिनीहरू छन्। सामान्य आर्थिक अवस्थाका कारण उनका बुवा वर्षौँ अघि कमाइ गर्न मलेशिया गएका थिए। अहिले पनि उतै छन्।
इन्डियन आइडलको एउटा कार्यक्रममा मेनुकाको ठूलो इच्छा आफ्नो बुवालाई घर फर्काउनका लागि आफू सक्षम बन्नु रहेको बताएकी थिइन्।
हुन त उक्त कार्यक्रममा मेनुकाले नै आफ्नी एउटी बहिनीको विवाह गराएको र अर्की बहिनीलाई पढाइरहेको भन्ने कुरा खुलेको थियो।
२५ वर्षमा परिवारको जिम्मेवारी सम्हाल्न थालिसकेकी मेनुका जन्मिँदा नै आँखा नदेख्ने भएर जन्मिए पनि उनको आँखाको उपचारका लागि आमाबुवाले आफूले सकेको सबै उपचार खोजे।
केही सीप नचलेपछि आमाबुवाले उनलाई झापाकै गरामुनी भन्ने ठाउँमा रहेको दुर्गा माध्यामिक विद्यालयको होस्टलमा राखिदिए। जहाँ अन्य दृष्टिविहीनहरू पनि थिए।
मेनुकाको सङ्गीतसँगको पहिलो परिचय त्यहीँ भयो।
जब हार्मोनियमको सङ्गीत सुनिन् उनी तत्कालै आकर्षित भइन्।
इन्डियन आइडलको मञ्चमा उनले भनेकी छन्, “मलाई त्यही बेला लागेको थियो, जिन्दगीमा केही बन्नु छ भने गायिका नै बन्नु छ।”
मेनुकाले होस्टलमा हार्मोनियममात्रै होइन सङ्गीत सिकाउने गुरु अनिल फागो र आफूजस्तै सङ्गीतसिक्ने हुटहुटी भएका साथी उज्ज्वल सागर पनि भेटिन्।
मेनुकालाई आमाबुुवा र बहिनीहरूपछि सम्भवत सबैभन्दा बढी नजिकबाट चिन्ने आफू नै भएको उज्ज्वल दाबी गरेर भन्छन्।
उनले मेनुकाले आज भोगिरहेको सफलताको दिनमात्रै देखेका छैनन् वर्षौँदेखि एकान्तमा उनले गरेको सङ्गीत साधनाको साक्षी पनि बनेका छन्।
सङ्गीत क्षेत्रका हस्तीहरूले आफ्नो चेलीबारे गरेको तारिफ सुनेर प्रफुल्ल सुनिने गुरु अनिल फागोले मेनुकामा सङ्गीत प्रतिको समर्पण र दृढता सानैदेखि देखेका थिए।
“मेनुकाले इन्डियन आइडलमा भाग लिन जान्छु भन्ने धोको पहिल्यैदेखि राखेकी थिइन्,” फागो भन्छन्।
“नानी असाध्यै मेहेनती थिइन्। सङ्गीतमा समर्पित थिइन्।”
उज्ज्वलका अनुसार मेनुकालाई सानैदेखि भजनमा रुची थियो। उनलाई करिब तीनहजार भजनहरू कण्ठस्थ आउने उज्ज्वल बताउँछन्।
“पुराणहरूमा भजन गाउन जान्थी। क्लासिकल म्युजिक पनि गाउँथी,” उज्ज्वल भन्छन्।
मेनुकाले गरामुनीस्थित होस्टेलमै बस्दा भारतको अलाहवादमा रहेको प्रयाग सङ्गीत समितिबाट सङ्गीतको डिप्लोमा गरिन्।
त्यहाँको आवद्धता लिएर झापामै बसेर सङ्गीत पढ्ने व्यवस्था फागोले नै मिलाइदिएको उज्ज्वल बताउँछन्।
तेस्रो वर्षको जाँच अलाहावादबाट सक्दा स्कुले १० कक्षाको परीक्षा पनि सकियो
सङ्गीतमा तीन वर्षको डिप्लोमासँगै मेनुकाले कक्षा १० को पढाइ पूरा गरिन्।
सानैदेखि सङ्गीतमा आफ्ना पँखेटा फिजार्न चाहेकी मेनुकालाई त्यसपछि भने काठमाण्डू जानुपर्छ भन्ने लाग्यो।
झापामा हुँदै काठमाण्डूमा रहेका कतिपय सङ्गीतकारहरूसँग मेनुकाले आफ्नो परिचय बढाइसकेकी थिइन्।
१५/१६ वर्ष हुँदै उनी आफैँ सङ्गीतकारहरूको सम्पर्क नम्बर खोज्थिन् र फोनबाटै कुरा गरेर भेट्ने इच्छा व्यक्त गर्थिन्।
काठमाण्डू आएपछि उनी जो जो सङ्गीतकार वा गायकलाई भेट्न जान्थिन् उनीहरू मेनुका दृष्टिविहीन हुन् भन्ने थाहा पाएर चकित पर्थे।
अर्थात् मेनुका फोनबाट सम्पर्क गर्दा कसैलाई पनि आफू दृष्टिविहीन भएको खुलाउँदैन थिइन्।
उनी दृष्टिविहीनलाई अरूको सहारा चाहिन्छ वा त्यो कमजोरी हो ठान्ने विचार नै ठिक मान्दिनन्।
गुरु अनिल फागो भन्छन्, “दृष्टिविहीन भएका कारण कसैले बाटोमा मागिरहेको छ भन्ने थाहा पाउँदा उनी रिसाउँथिन्। आफैँ गरेर पो खानुपर्छ, मागेर पनि खाने हो भन्थिन्।”
अहिले इन्डियन आइडलको मञ्चमा पनि मेनुकाले आफूले गीत गाउनेबाहेक खाना पकाउने, किनमेल गर्ने, एक्लै यात्रा गर्ने सबै काम आफैँले गर्ने गरेको बताइन्।
सङ्गीतकार कल्याणजी कार्यक्रममा आएको बेला आफैँले बनाएको भन्दै मेनुकाले खीर ल्याएकी थिइन्।
त्यसअगाडिको कार्यक्रममा उनले निर्णायकलाई आफैँले किनेको भनेर उपहार पनि ल्याइदिएकी थिइन्।
उनले कुनै अन्तर्वार्तामा भनेकी पनि छन्, “मैले बालापनदेखि नै यो कुरा सिकेकी छु कि मानिसले सबैकुरा आफैँ गर्नुपर्छ।”
मेनुकाको गायनबाटै सङ्गीतप्रतिको उनको सङ्कल्प र समर्पण देख्न पाएका निर्णायकले उनका बारे सुनेपछि तालि बजाएर समर्थन गरे।
निर्णायक घोषालले त भनिन् पनि, “मेनुका तिमीले के गर्न सक्दैनौ? सबै गर्न सक्छौँ र हामी सबैले भन्दा राम्रो गर्न सक्छौ।”
देख्न सक्नेहरू जस्तो रङ्ग वा आकृतिसँग उनी परिचित छैनन्।
उनले केवल गीत, सङ्गीत र सुर सुनेर गाउन सिकिन्।
उनमा सङ्गीतको सही नजर भएको सन् १९९० को दशककी चर्चित गायिका अनुराधा पौडवाल बताउँछिन्।
मेनुकाले गाएको सुनेर चर्चित निर्देशक महेश भट्टको कार्यक्रममै मानिसको एउटा आँखा मनमा हुने भन्दै त्यसैबाट मेनुकाले दुनियाँ देखेको बताए।
उनी उपस्थित कार्यक्रममा मेनुकाले ‘गलेमा आज चाँद निकला’ र ‘तुम इतना जो मुस्कुरा रहे हो’ बोलका दुईवटा गीत सुनिसकेपछि मञ्चमै पुगेर आफ्नो परिचय गराउँदै भट्टले मेनुकालाई भने, “एउटा आँखा मनमा हुन्छ जसबाट तिमी दुनियाँ हेर्छौँ। तिमीले जुन चन्द्रमा देखायौ त्यो चन्द्रमा त मैले कहिल्यै देखेकै थिइनँ।”
उक्त कार्यक्रममा महेश भट्ट खुब भाबुक बनेका थिए।
त्यसैगरी अर्को कार्यक्रममा मेनुकाको गीत सुनेर भावुक बनिन्, गायिका साधना सरगम।
उनले पनि मञ्चमै पुगेर निर्देशक भट्टले जस्तै मेनुकालाई अङ्गालो मारेर भनिन्, “तिमीमा परमात्माको कृपा छ। त्यसैले तिमी हृदयबाटै गाउँछौ। त्यसैले सबैको हृदयसम्म तिम्रो आवाज पुग्छ। र, तिमी सबैको दिलमा बसिसक्यौ।”
मेनुकाको निरन्तरको साधना
मेनुकाले कार्यक्रमका निर्णायक र अतिथिहरू नै चकित हुने गरी गीत गाइरहेकी छन् भन्ने कुरा उनका निकट साथी उज्ज्वल सागरलाई अनौठो लाग्दैन।
उज्ज्वल आफू पनि जन्मजात दृष्टिविहीन हुन्। उज्ज्वल र मेनुका सानैदेखि होस्टलमा सँगै बसेर सङ्गीत सिकेका कारण उनीहरू अहिले पनि एकअर्काबीच घन्टौँसम्म सङ्गीतबारे छलफल गर्छन्।
एकले अर्कालाई तँ भनेर सम्बोधन गर्ने उनीहरूको मित्रताको कथा लोभलाग्दो र प्रेरणादायी लाग्छ।
इन्डियन आइडलमा जानकै लागि मेनुकाले कुन तहको मेहेनत गरिन् भन्नेबारे सबैभन्दा जानकार सम्भवत: उज्ज्वल नै छन्।
“इन्डियन आइडलमा जान भनेर उसले (मेनुका) १२०० वटा जति हिन्दी गीत कण्ठ गरी होला। उर्दु भाषा पनि अनलाइनबाट सिकी,” उज्ज्वल भन्छन्।
सङ्गीतमा मेनुकाको बलियो र कमजोर पक्ष आफूलाई जति अरू कसैलाई थाहा नभएको दाबी उज्ज्वल गर्छन्।
गरामुनीमा होस्टेलमा बस्दादेखि नै उनीहरू बिहानै उठेर कम्तीमा दुई घन्टा र साँझ स्कुलपछि दुई घन्टा रियाज गर्थे।
उज्ज्वलका अनुसार मेनुकाले नेपाल आइडल र सारेगमपमा भाग लिएपछि इन्डियन आइडलमा जानका लागि दिलोज्यान दिएर तयारी गरेकी थिइन्।
“उसले दिनमा ६/७ घन्टा रियाज गर्छे जुन सामान्यतया गर्न एकदमै गाह्रो हुन्छ,” उज्ज्वल भन्छन्, “हामी स्कुलमा सङ्गीत सिक्दा देखिनै बिहान ४ बजे उठेर रियाज गर्थ्यौँ र बेलुका पनि अनिवार्य गर्थ्यौँ।”
अहिले इन्डियन आइडलमा भाग लिइरहँदा मेनुका मुम्बईमा छिन्, उज्ज्वल मध्यबानेश्वरमा बस्छन्।
तर उनीहरूबीच निरन्तर संवाद हुने उज्ज्वलले बताए।
मेनुका प्रत्येक नयाँ कार्यक्रमका लागि गीतको सूची दिँदा उज्ज्वलसँगै मद्दत लिन्छिन्।
“उसले कहाँ बिगार्छे वा कुन गीत राम्रो गाउन सक्छे भन्ने मलाई थाहा छ,” उज्ज्वल भन्छन्।
स्कुलदेखि नै मेनुकाले गाउने हरेकजसो गीतमा उज्ज्वल तबला बजाइदिन्थे।
एउटा समय त यस्तो आयो मेनुकाका लागि तबला बजाउँदै बजाउँदै आफूले गाउन सिक्न पाइनँ भन्ने लागेपछि उज्ज्वलले मेनुकालाई तबला बजाउन पनि लगाए। तर मेनुका गाउनमै तल्लिन रहेको उज्ज्वल बताउँछन्।
अहिले इन्डियन आइडलमा भाग लिइरहँदा पनि उनैले अतिथि अनुसार मेनुकालाई आफूले गीत पनि सुझाइदिने गरेको बताउँछन्। उनले सुझाएका कतिपय गीत छानिएको पनि उनले बताए।
निर्देशक महेश भट्ट कार्यक्रममा आउँदाको उदाहरण दिँदै उनले भने, “तलाईँ ‘गलीमा आज चाँद निकला’ गीत गाउन दिन सक्छन् उनीहरूले।”
नभन्दै मेनुकाले गाइन् पनि त्यही गीत जुन गीत सुनेर भट् एकदमै भावुक बने।
उनका अनुसार सुरुमा सिफारिस गरेका ३० मध्ये ६ वटा गीत मेनुकालाई इन्डियन आइडलमा गाउन दिइएको थियो।
सङ्गीतमै आफूलाई निखार्दै लगेका उज्ज्वल नेपाली गीत गाउने, लेख्ने र सङ्गीत भर्ने काम गर्छन्।
मेनुकाले भारतमा आफ्नो परिचय विस्तार गरिरहँदा उज्ज्वलले नेपालमा आफूलाई स्थापित गर्दै लगेका छन्।
आफैँ गीत लेख्ने गाउने र सङ्गीत भर्ने उज्ज्वल सागर मेनुकाको सानैदेखिका साथी हुन्
मेनुकाको विगत हेर्ने हो भने उनलाई ११ औँ नम्बर नफापेको उज्जवलको भनाइ छ।
असल साथीको भूमिका निभाउँदै उनले मेनुकालाई त्यो पार नगर्दासम्म त्यति धेरै उत्साही नहुन सुझाएका पनि छन्।
केही समयअगाडिको टेलिफोन संवादमा आफूले मेनुकालाई भनेको कुरा सुनाउँदै उज्ज्वल भन्छन्, “तँ सधैँ ११ औँ नम्बरमा पुगेर माथि जान पाउँदिनस्। पहिला तैँले त्यो ११ औँ नम्बर पार लगाउनुपर्छ।”
मेनुकाका अनुसार उज्ज्वलले ११ नम्बरलाई “च्यानल गेट” को संज्ञा दिएका छन्।
रियालिटी शोमा मेनुकाले भाग लिएको यो पहिलो पटक होइन।
चार वर्षअघि उनी भारतमै हुने अर्को रियालिटी शो सारेगमपमा पनि पुगेकी थिइन्। त्यसको अडिसनमा पनि उनले दिग्गज कलाकारहरूबाट वाहवाही बटुलेकी थिइन्।
अहिले इन्डियन आइडलमा जस्तै हरेकजसो एपिसोडमा मेनुकाले उच्च स्कोर सहित ‘स्ट्यान्डिङ ओवेसन’ पाउँथिन्।
तर टप ११ को प्रतिस्पर्धाबाटै उनी बाहिरिइन्। त्यसअघि नेपाल आइडलबाट आफ्नो परिचय बनाएकी मेनुका त्यहाँ पनि मतदानका आधारमा हुने निर्णयमा ११ औँ स्थानमै सीमित बनिन्।
उज्ज्वलका अनुसार एसएलसीपछि काठमाण्डूको श्रृजना कलेज अफ फाइन आर्टस् पढ्दै गरेकी मेनुकाको पढाइ पनि ११ औँ कक्षामा अड्किएको थियो।
तर मेनुकाले कुनै एउटा कार्यक्रममा अन्तर्वार्ता दिँदै भनेकी छन्, “आत्तिने र मात्तिने कुरा मेरो शब्दकोशमा छैन।”
एकपछि अर्को अवसर
उनले प्रत्येक पटक गीत गाउँदा आफ्नो गायन र स्वरका कारण प्रशंसा मात्रै पाइरहेकी छैनन्। नयाँ नयाँ अवसर पनि पाएकी छन्।
इन्डियन आइडलको पछिल्लो कार्यक्रममा उनले सलार चलचित्रमा पार्श्व गायनका लागि प्रस्ताव पाएकोबारे चर्चा भएको थियो।
रबि बसरुरले सङ्गीत संयोजन गरेको “सुरज ही छाओँ बनके” बोलको उक्त गीत अहिले यूट्यूबमा सार्वजनिक भइसकेको छ।
सार्वजनिक भएको दोस्रो दिन नै उक्त गीत अहिलेसम्म करिब ३० लाख पटक सुनिसकिएको छ।
केजीएफ चलचित्रका निर्देशक प्रशान्थ नीलले बनाउन लागेको चलचित्रमा बहुचर्चित बाहुबली चलचित्रका अभिनेता प्रभासको मुख्य भूमिका रहेको बताइएको छ।
मेनुकाले आफूले पाएको उक्त प्रस्ताव कति ठूलो हो भन्ने कुरा सामाजिक सञ्जालमा लेखेको स्टेटसबाटै थाहा पाउन सकिन्छ।
उनले आइतवार फेसबुकमा लेखेकी छन्, “’म आज निकै उत्साहित छु। किनकी मैले फिल्ममा गीत गाउने अवसर पाएकी छु। यो मेरो टर्निङ पोइन्ट हो। जहाँ मैले पहिलो प्लेब्याक गीत गाएकी छु। मेरो तर्फबाट निकै राम्रोसँग गाउने छु।”
त्यसअघिको एउटा कार्यक्रममा निर्माता तथा अभिनेता जन्मदास मजेथियाले आफूले लामो समयदेखि लभ एट फर्स्ट साउन्ड अर्थात् पहिलो आवाजमै प्रेम भन्ने चलचित्र बनाउन चाहेको र त्यसमा मेनुकाले गीत गाउने र अभिनयका लागि एउटा भूमिका पाउने घोषणा गरे।
‘गरिबको चमेली’ गीत पाँच दशकअघि यसरी रचिएको थियो
अहिले इन्डियन आइडलमा विभिन्न ठाउँमा गीत गाउन प्रस्ताव र प्रशंसा पाइरहेकी मेनुकाले १६ वर्षकै उमेरमा काठमाण्डू आएर सङ्गीत प्रतियोगिताको खोजी गर्दै हिँड्थिन्।
त्यसैगरी खोजी गर्दै जाँदा भाग लिएको रेडियो नेपालको आधुनिक गीत सङ्गीत प्रतियोगितामा मेनुका प्रथम भइन्।
त्यसपछि लहडैलहडमा आफू नेपाल आइडलमा सहभागी हुन गएको बताउने मेनुकाले त्यहाँ ११ औँ स्थानमा सीमित बनेपनि थप सपना देख्न छोडिनन्।
उनले त्यसपछि नै हो भारतको अर्को सङ्गीत सम्बन्धी रियालीटी शो सारेगमपमा भाग लिएको।
त्यहाँ पनि उत्कृष्ट १० मा नपरे पनि उनले इन्डियन आइडलमा कोसिस गर्ने धुन छोडिनन्।
पछिल्ला वर्षहरूमा साईबाबा मान्ने उनले इन्डियन आइडल पुग्ने आफ्नो लक्ष्य पूरा गरेकी छन्।
अहिले उत्कृष्ट १२ मा पुगेकी मेनुकाको प्रतिस्पर्धा जारी छ।
तर त्यहाँ उनले पाएको प्रशंसा सुनेर उनका सङ्गीतका गुरु अनिल फागो शब्दमा व्यक्त गर्नै नसकिने खुसी आफूले महसुस गरेको बताउँछन्।
“उनी जन्मजात एउटा प्रतिभा लिएर आएकी थिइन्। हामीले त पालिस लगाइदिने काम मात्रै गरेका हौँ,” फागो भन्छन्।
मुम्बईमा मेनुका सुरेश वाड्करको सङ्गीत विद्यालयमा सङ्गीत सिक्दै छिन्।
विभिन्न भजनहरू गाउँदै विभिन्न ठाउँमा पुग्ने र जनसम्पर्क विस्तार गर्ने मेनुका गायन वा कामको सिलसिलामा जहाँ पुगे पनि आफ्नो दैनिक गर्ने रियाज कहिल्यै नछोड्ने उज्ज्वल बताउँछन्।
“कहिलेकाहीँ त अल्छी लाग्छ नि। तर मेनुका त जहाँसुकै गएको होस् आफूले गर्ने अभ्यास छोड्दिनँ,” उज्ज्वलले भने।
मेनुका विगतदेखि नै थुप्रै कार्यक्रमहरूमा भजन गाउन जाने गर्थिन्
सङ्गीतमा सानैदेखि यस्तो सङ्कल्पसहित लागेकी मेनुका चमकधमक बिना नै मञ्चमा उभिन्छिन्।
उनी जुनसुकै मञ्चमा उभिँदा सरलता नै उनको गहना बन्ने गरेको छ।
इन्डियन आइडलको कुनै एउटा एपिसोडमा मेनुकाले गीत गाइसकेपछि निर्णायक विशाल ददलानीले भने- “आजकाल मञ्चमा उपस्थित हुने जो कोही प्रस्तुति दिन्छन्। तर मेनुका मञ्चमा जाँदा त्यो सबै छोडेर जान्छिन्, भगवान्को मन्दिरमा जाँदा जुत्ता खोलेर गएजस्तै।”
गीत गाउँदा पनि मेनुका सुरमा ध्यान दिन्छिन् र त्यसलाई पक्रिएर तन्मयताका साथ गाउँछिन्।
अन्य गायकले जस्तो मञ्चमा गाउँदा उनको अनुहारको भावभङ्गिमामा खासै परिवर्तन देखिँदैन।
अनुराधा पौडवालले मेनुकाको गायकी सुनिसकेपछि उनको सुर समात्ने कलाको तारिफ गरिन्।
“तिमीमाथि बाबा (साइबाबा)को यति धेरै आशिर्वाद छ। तिमीले जीवनमा जे देख्नुपर्ने हो त्यो हेर्नका लागि तिमीलाई भगवानले सही नजर दिएका छन्। त्यो भनेको सुर हो,” जन्मजात दृष्टिविहीन रहेकी मेनुकाको गायनबारे प्रतिक्रिया दिँदै पौडवालले यसो भनिरहँदा मञ्चका निर्णायकहरू पनि सहमत भएजस्तो देखिन्छ।
“तिमी सुरमा कहीँ चुकेकी छैनौ। तिमीले गाउँदा हरेक सुरले दिल छोएर गएका छन्। असाध्यै राम्रो,” पौडवालले थपिन्।
मेनुकाको खुट्टा छोएर आशिर्वाद
मेनुका पछिल्लो समय साईबाबा भक्त बनेकी छन्
साजन चलचित्रका लागि अनुराधा पौडवालले गाएको ‘जिए तो जिए कैसे बिन आपके’ गीत गाइसकेपछि उनैले मेनुकालाई यसो भनिरहँदा दर्शकदीर्घाबाट ‘वान्स मोर, वान्स मोर’ भन्ने माग गुञ्जिरहेको थियो।
कतिपय दर्शक भने उक्त गीत नसकिँदासम्म रोएको देख्न सकिन्छ।
दर्शक र निर्णायकमात्रै होइन गीत सुनेपछि चर्चित कलाकारहरू पनि प्रभावित हुने गरेका छन्।
मेनुकाले तमासा चलचित्रको “अगर तुम साथ हो” बोलको गीत गाएपछि उक्त कार्यक्रममा आएका अभिनेता रणवीर कपुरले उक्त गीत रेकर्ड गरेर बजाइएको जस्तो लागेको बताएका थिए।
त्यति भनेर मञ्चमै पुगेका रणवीरले मेनुकालाई सङ्गीतकी देवी भन्दै उनको खुट्टामा छोएर आशिर्वाद लिए र आफूलाई एकदमै मनपर्ने भन्दै आफ्नो चस्मा मेनुकालाई उपहार दिए।
भारतीय रियालिटी शोमा निर्णायकले प्रतियोतीहरूले गाएको गीत सुनेपछि वाहवाही गर्नु वा उनीहरूका पीडादायी कथा सनेर भक्कानिएको दृश्य नौलो होइन।
कतिपयले दर्शकका लागि कार्यक्रम रोचक बनाउन कृत्रिमता देखाइने गरेको पनि बताउँछन्।
यस्तो खालको कुनै पनि कार्यक्रममा टेलिभिजन रेटिङ पोइन्ट अर्थात् टिआरपीका लागि उनीहरू कार्यक्रमलाई नाटकीय बनाउने र कार्यक्रममा बोलिने भाषादेखि अभिनयसम्म सबै ‘स्क्रिप्टेड’ हुने गर्छ भन्ने विषय पनि चर्चामा आइरहन्छ।
वास्तविक कुरा जे भए पनि नेपालबाट इन्डियन आइडलको मञ्चमा पुगेकी मेनुकाले आफ्नो व्यक्तिगत जीवनबारे त्यतिधेरै बताएकी छैनन्।
उनले प्रशंसा पाइरहेकी छन् र नयाँ नयाँ प्रस्ताव तथा अवसर पनि पाइरहेकी छन्।
मेनुकाले गीत गाएका प्राय सबै कार्यक्रमपछि निर्णायक वा अतिथिले प्रशंसा गरेका यस्ता कैयौँ भिडिओहरू सामाजिक सञ्जालमा एकपछि अर्को भाइरल बन्दै आएका छन्।
इन्डियन आइडलको मञ्चसम्म पुर्याउन सुरुवाती अडिसनकै चरणदेखि सहयोग गर्ने सीता आन्टीसँग मेनुका
इन्डियन आइडलमा प्रतियोगी भइरहेकै बेला आफूले कुरा गर्न नमिल्नेबारे बीबीसीले पटकपटक गरेको सम्पर्कमा मेनुकाले बताएकी छन्।
नेपाली गायिका भारतको इन्डियन आइडलमा कसरी हुन सक्छिन् भन्ने सवालहरू पनि देखा परेका छन्।
सवालबीच उनको गायकी थप बलियो बन्दै गएको कार्यक्रममा अतिथि र निर्णायकले जनाएका प्रतिक्रियाबाट देखिएको छ।
निर्णायकको हातमा मात्रै निर्णय भर नपर्ने यस्तो प्रतिस्पर्धामा जनताबाट पाउने मतका आधारमा मेनुकाको यात्रा कहाँसम्म पुग्नेछ भन्ने अहिले नै अनुमान लगाउन सकिँदैन।
उत्कृष्ट १२ मा पुगेकी मेनुकाका लागि उज्ज्वलले भनेको ११ नम्बरको ‘च्यानल गेट’को परीक्षा नजिकिएको छ।
तर ‘आत्तिने र मात्तिने शब्द आफ्नो शब्दकोषमै नभएको’ बताउने मेनुकाका लागि इन्डियन आइडल एउटा ठूलो मञ्च बनेको छ।
इन्डियन आइडलमा भाग लिन जाने कुरा मेनुका उज्ज्वललाई उनकै शब्दमा ‘फ्यान्टासाइज’ गरेर सुनाउँथिन्।
“इन्डियन आइडलमा गयो भने यस्तो हुन्छ हेर् केटा भनेर उसले सुनाउथी,” उज्ज्वलले मेनुकाको शब्द सापटी लिँदै भने, “अन्तिम पटक रियालिटी सोमा भाग लिने कोसिस गर्छु तर ज्यान दिएर गर्छु।”
उनले आफ्नो सबल र दुर्बल सबै पक्ष जानेका मिल्ने साथीसँग व्यक्त गरेका शब्दले नै अनुमान गर्न सकिन्छ चाहे इन्डियन आइडलमा ११ औँ नम्बरको ‘च्यानल गेट’ पार गरून् वा नगरून् तर आफ्नो सङ्गीतको यात्रामा थप रङ्ग भर्दै जानेछिन्।
आफ्नो प्रेरणाको सबैभन्दा ठूलो स्रोत सङ्गीत मान्ने मेनुका आफ्नो जीवनमा सङ्गीतको उडानलाई अझै फराकिलो र परिष्कृत बनाउँदै लैजानेछिन्।









