काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित छ। यसको प्रभावले देशभर आंशिकदेखि साधारणतया बदली रही सबै प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसोको मौसम: देशभर साधारणतया बदली रहनेछ। देशको हिमाली तथा पहाडी भूभागका केही स्थानहरूमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका केही भागहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा पनि मध्यम वर्षाको आँकलन गरिएको छ।
Advertisement
विशेषगरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज रातिको मौसम: राति पनि देशभर साधारणतया बदली नै रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। देशका पहाडी तथा तराई भूभागका केही स्थानहरूमा पनि वर्षा जारी रहनेछ।
साथै, रातिको समयमा कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।








