नेपालगञ्ज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले गाउँका पाँच जना नागरिकलाई बेपत्ता बनाएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँ यतिबेला गहिरो शोक र सन्नाटामा डुबेको छ।
सामान्यतया तीज पर्वको आगमनसँगै रातो सारीको झिलिमिली, मादलको ताल र गीत–सङ्गीतले गुञ्जायमान हुने यस गाउँमा यसपटक भने खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन्। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले गाउँका पाँच जनालाई एकाएक बेपत्ता पारेपछि सम्पूर्ण गाउँले नै तीजको रौनकता छाडेर शोक मनाइरहेका छन्।
Advertisement
रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा ज्याला–मजदुरी गर्दै आएका ५३ वर्षीय शेरसिंह रोकाय, उनकी ५६ वर्षीया पत्नी विष्णुमती रोकाय र उनीहरूलाई भेट्नका साथै गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीमा परी बेपत्ता भएका हुन्। बुढेसकालको सहारा बनेका एक्ला छोरा र जीवनका आधार बनेका दाजु-भाउजू एकैपटक हराएपछि अनलाल रोकायको परिवार विछोडको असह्य पीडामा छ। उनीहरू फर्किने झिनो आशामा परिवारका सदस्यहरू ढोकाको सङ्घारमा टोलाएर बसिरहेका छन्।
यस्तै, सोही बाढीमा परी रोजीरोटीका लागि रसुवा पुगेका आराम दमाईं र उनकी पत्नी उजना दमाईं पनि बेपत्ता भएका छन्। अभिभावक गुमाएपछि उनीहरूका १६ वर्षीय छोरा सुभाष, ११ वर्षीय अश्विन र ९ वर्षीया छोरी स्मारिकाको बिचल्ली भएको छ। यी अबोध बालबालिकाहरू दिनभर आमा-बुबा फर्किने बाटो हेर्दै टोलाउने गरेका छन्।
स्थानीय टेकराज जैसीका अनुसार गाउँका पाँच जना सदस्यहरू एकैपटक बेपत्ता भएपछि कसैको मनमा पनि चाडपर्वको उमङ्ग छाएको छैन। गाउँलेले तडकभडक त्यागेर पीडित परिवारको घाउमा मलम लगाउने कोसिस गरिरहेका छन्।
नेपालगञ्ज–२० का कार्यवाहक वडाध्यक्ष चक्रबहादुर बुढाले बेपत्ताहरूको खोजी कार्यलाई जारी राख्न पहल गरिने बताएका छन्। साथै, सहाराविहीन बनेका बालबालिकाको पालनपोषण र शिक्षादीक्षाका लागि वडा कार्यालयको तर्फबाट आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
यसपटकको तीजमा थपुवागाउँले गीत र नृत्य होइन, केवल वियोग र आफ्ना प्यारा मान्छेहरू सकुशल फर्किऊन् भन्ने प्रार्थना मात्र रोजेको छ।








