हरितालिका तीज: पशुपतिनाथसहित देशभरका शिवालयमा महिला श्रद्धालुको घुइँचो

काठमाडौँ । नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज आज देशभर धार्मिक एवम् सांस्कृतिक विधिपूर्वक श्रद्धा र भक्तिसाथ मनाइँदैछ। तीजको अवसरमा राजधानीको पशुपतिनाथ मन्दिरका साथै देशैभरका शिवालयहरूमा बिहानैदेखि भक्तजन महिलाहरूको ठूलो भीड लागेको छ।

विशेष गरी महिलाहरूले आजका दिन व्रत बसी भगवान् शिव र माता पार्वतीको पूजा-आराधना गर्ने गर्छन्। यसरी पूजा गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि कायम हुने र दाम्पत्य जीवन सफल हुने धार्मिक विश्वास रहिआएको छ। विवाहितका साथै अविवाहित महिलाहरूले समेत मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ व्रत बसी शिवजीको दर्शन गरिरहेका छन्।

Advertisement

पशुपतिनाथ मन्दिर परिसरमा रातो, हरियो तथा पहेंलो पहिरन र गरगहनामा सजिएका महिला श्रद्धालुहरूको बाक्लो उपस्थिति रहेको छ। भक्तजनको अत्यधिक भीडलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था चुस्त बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

पशुपतिनाथबाहेक उपत्यकाका गोकर्णेश्वर, कुम्भेश्वर, डोलेश्वर, आशापुरीलगायतका मन्दिरहरू र देशका अन्य विभिन्न जिल्लाका शिवालयहरूमा पनि बिहानैदेखि पूजाआजा र दर्शन गर्नेहरूको घुइँचो छ।

धार्मिक आस्थाका साथै तीजलाई महिलाहरूको सामाजिक तथा सांस्कृतिक अभिव्यक्तिको पर्वका रूपमा समेत हेरिन्छ। चेलीबेटीहरू माइतीमा भेला भई दर खाने, नाचगान गर्ने र आपसमा खुसी साटासाट गर्ने मौलिक परम्परा रहँदै आएको छ। यद्यपि, पछिल्ला वर्षहरूमा पर्वमा भित्रिएको तडकभडक र विकृतिबारे पनि बहस सुरु भएको छ।

नेपाली समाजको सांस्कृतिक विविधता र पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउने तीज पर्वका अवसरमा आज दिनभर नै देशभरका शिव मन्दिरहरूमा धार्मिक गतिविधि जारी रहनेछन्।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु