कपिलवस्तु । आसन्न चाडपर्वलाई लक्षित गरी कपिलवस्तुमा चलाइएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन (लापसे) गरी सवारी चलाउने चार जना चालक पक्राउ परेका छन्।
Advertisement
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सञ्चालन गरेको लापसे तथा मापसे (मादक पदार्थ सेवन) चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूमाथि गरिएको निगरानीका क्रममा शङ्कास्पद २३ जनाको ‘युरिन एक्रो किट’ मार्फत पिसाब परीक्षण गर्दा चार जनामा लापसे पोजेटिभ देखिएको प्रहरीले जनाएको छ। सोही क्रममा एक स्कुटर चालक मादक पदार्थ सेवन (मापसे) गरेको अवस्थामा फेला परेका थिए।
पक्राउ पर्ने चालकहरू:
युवराज खनाल (२५ वर्ष) – शितगंगा नगरपालिका–१२, अर्घाखाँची
संजय केसी (३८ वर्ष) – खलङ्गा–७, प्युठान
लिलबहादुर विक (२३ वर्ष) – कञ्चन गाउँपालिका–५, रुपन्देही
कृष्णकुमार गुप्ता (३५ वर्ष) – राप्ती गाउँपालिका–१, दाङ
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार लागूऔषध सेवन गरेर सवारी चलाउँदा चालक, यात्रु र पैदलयात्री सबैको ज्यान जोखिममा पर्ने भएकाले चाडपर्वका बेला चेकजाँचमा थप कडाइ गरिएको हो।
चाडपर्वमा राजमार्गमा लामो दूरीका तथा निजी सवारी साधनको चाप उच्च हुने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्न लापसे, मापसे र अन्य ट्राफिक नियम उल्लङ्घनविरुद्धको अभियानलाई निरन्तरता दिइने प्रहरी नायव निरीक्षक राजीव विश्वकर्माले जानकारी दिए।








