‘आउटड्रेस’ लगाएको भन्दै प्रअले ‘कुटे’ विद्यार्थी

 

तिलोत्तमा/ईकान्तिपुर — रुपन्देहीको रोहिणी गाउँपालिकामा तोकेको भन्दा फरक पोशाक लगाएर वसद्यालय गएका एक विद्यार्थीलाई प्रधानाध्यापकले निर्घात कुटेका छन् । रोहिणी गाउँपालिका वडा नम्बर ७ मा रहेको मोडेल गोल्डेन फ्युचर इंग्लिस स्कुलका प्रधानाध्यापक शम्भु यादवले कक्षा ८ का विद्यार्थीलाई जाडोमा ज्याकेट लगाएकै कारण कुटपिट गरेको विद्यार्थी आकाश गुप्ताले बताए।

Advertisement

विद्यालयले जाडोमा लगाउनका लागि निलो रङको स्वेटर तोकेको छ, तर अहिलेसम्म विद्यार्थीले प्राप्त गरेका छैनन् । ‘पुस १ गते जाडो भएको कारण घरमै लगाउने ज्याकेट लगाएर विद्यालय गएको थिएँ,’ विद्यार्थी गुप्ताले भने, ‘चापाकलमा पानी खाइरहेको बेला हेडसर आएर आउटड्रेस किन लगाएको भन्दै कुट्न थाल्नुभयो ।’ अन्य विद्यार्थीले पनि ज्याकेट लगाएको भन्दै प्रतिवाद गर्न खोज्दा शिक्षक शम्भु यादव झन आक्रमक भएको गुप्ताको आरोप छ । उनले भने, ‘हेडसरले लात, मुक्का, झापड हान्न थाल्नुभयो, जेनतेन भागेर जोगिएँ ।’

शिक्षकको कुटाइबाट १६ वर्षीय आकाशको आँखा, कान, छाती, हातको औंलामा चोटपटक लागेको छ । उनको विद्यालय पोशाक पनि च्यातिएको छ । आकाशका ठूलो बुवा सर्जुनप्रसाद गुप्ताले शिक्षकले यसअघि पनि भतिजालाई कुटपिट गरे पनि सहेर बसेको तर अब कानुनी उपचारमा जाने बताए । ‘योभन्दा पहिला पनि कुटेका रहेछन्, विद्यालयमा विद्यार्थीलाई अनुशासनमा राख्नलाई होला भनेर केही नबोली बस्यौँ,’ उनले भने ‘तर पटक-पटक तथा रक्ताम्य हुने गरी नै कुट्न थालेपछि अब कानुनी उपचारमा जानेछौं ।’

सर्जुनले रोहिणी गाउँपालिकाको शिक्षा शाखामा उजुरी दिएका छन् । गाउँपालिकाका शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेले यस विषयमा स्पष्टीकरण माग गरी कारबाही अगाडि बढाएको बताए ।

प्रधानाध्यापक शम्भु यादवले भने आफूले कुनै कुटपिट नगरेको दाबी गरे । उनले कुटपिटबाट नभई आफूले लगाएको घडीबाट विद्यार्थीलाई चोट लागेको दाबी गरे । शिक्षक यादवले विद्यार्थी आकाश गुप्ताले आफ्नो सर्टको कलर समातेको र सोही छुट्याउने क्रममा चोट लागेको हुन सक्ने बताए ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु