लुम्बिनी/ईकान्तिपुर — रूपन्देही कोटहीमाई–४ बैरघाटकी सुधा चाईले गत वर्ष गाउँपालिकाबाट ५ हजार रुपैयाँ पाइन् । २०७९ पुस ११ मा छोरी विद्यान्सी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराएपछि उनलाई पालिकाले उक्त रकम दिएको हो । ‘वडा कार्यालयमा जन्मदर्ता गरेपछि पालिकाले रकम उपलब्ध गराएको हो,’ उनले भनिन्, ‘पालिकाले दिएको रकम छोरीकै नाममा खाता खोलेर जम्मा गरिदिन बचाएर राखेका छौं ।’
Advertisement
सुधाका श्रीमान् भारतको पन्जावमा काम गर्छन् । दोस्रो सन्तान पनि छोरी जन्मिएपछि श्रीमान्ले आर्थिक बोझ बढ्ने भन्दै मानसिक तनाव दिएका बेला गाउँपालिकाले पैसा दिएपछि राहत मिलेको उनले बताइन् ।
कोटहीमाई–२ तुलसीपुरमा बस्ने शिवचन्द पासीले पनि छोरी हर्षिताको वडा कार्यालयमा जन्मदर्ता गराएपछि ५ हजार रुपैयाँ पाए । उक्त पैसाले छोरी स्याहार्न चाहिने सामान किनेको उनले बताए । गाउँपालिकाले यस्तै सहयोग दिइरहे छोरीलाई पढाएर शिक्षक बनाउने उनको सोच छ । गाउँपालिकाले गत वर्षदेखि ‘बालिका जन्म प्रोत्साहन भत्ता’ कार्यक्रम अन्तर्गत छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउने परिवारलाई ५ हजार रुपैयाँ दिन सुरु गरेको थियो । उक्त योजना चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ ।
गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले समाजमा छोरालाई मात्र महत्व दिने मानसिकता कम गर्न यो योजना ल्याइएको बताए । ‘छोरी जन्मेपछि दुःख मात्र दिने वा जन्मनै नदिने (भ्रूण हत्या) गर्ने परिपाटीलाई पनि कम गर्न सकिन्छ कि भनेर कार्यक्रम चलाएका छौं,’ त्रिपाठीले भने, ‘आगामी वर्ष पनि निरन्तरता दिने योजना छ ।’
कार्यक्रमका लागि गत वर्ष विनियोजित १५ लाखमध्ये २ सय २१ जनालाई ११ लाख ५ हजार वितरण गरिएको पालिकाका लेखा अधिकृत निरञ्जन ज्ञवालीले बताए । ‘यस वर्ष ८ लाख छुट्याइएको छ,’ उनले भने, ‘यसभन्दा धेरै आवश्यक परे कार्यपालिकाबाट पारित गरेर लागू गरिनेछ ।’ एक आर्थिक वर्षमा पालिकाभरि जन्म हुने हरेक छोरीले ५ हजार रुपैयाँ पाउने भएकाले ३५ दिनभित्र जन्मदर्ता गराइसक्नुपर्ने प्रावधान राखिएको छ । साउनयता २० जनाको निवेदन प्राप्त भएको छ ।
गाउँपालिकाकी सामाजिक शाखा प्रमुख सरिता केसीले कार्यक्रम लागू भएपश्चात छोरीलाई घरपरिवारमा पनि सम्मान दिन थालिएको बताइन् । ‘यसले छोरीको नागरिकता बनाउन, विवाह दर्ता गर्न समेत सघाउँछ,’ उनले भनिन्, ‘यसले मधेसका सबै समुदायमा छोरीलाई पनि छोरासरह व्यवहार गर भन्ने सन्देश गएको छ ।’









