दाङ — लुम्बिनी प्रदेश सरकारले आज दुई मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसबाट प्युठानका सांसद सरोज थापालाई पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।
र माओवादीबाट बाँकेकी सांसद कृष्णा केसीलाई खानेपानी , ग्रामीण तथा सहरी विकास मन्त्रालय मन्त्री बन्ने टुंगो लागेको छ ।
शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । मुख्यमन्त्री चौधरीले शनिबार थापाको नामअघि सारेका हुन् । थापा कांग्रेस संस्थापन पक्षका सांसद हुन् । कांग्रेसमा संस्थापन इत्तर पक्षले पाल्पाका वीरबहादुर राना र पश्चिम नवलपरासीका विश्वप्रम पाठकलाई मन्त्री बनाउन दबाब दिएपछि शुक्रबारको मन्त्रिपरिषद् विस्तार रोकिएको थियो ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार लुम्बिनी कांग्रेस सभापति अमरसिंह पुनलाई मन्त्रीको नाम माग्दा दिन नसकेपछि थापालाई मन्त्री बनाउने निर्णय गरिएको हो । माओवादीले यस अघिको सहमतिअनुसार दुई मन्त्रालयका लागि केसी र रोल्पाका दीपेन्द्र पुनको नाम निर्णय सहित सिफारिस गरेको थियो । तर, कांग्रेस सभापति पुनले गठबन्धनबाट विद्रोह गरी निर्वाचित भएकालाई गठबन्धनबाटै मन्त्री बनाउन नहुने अडान लिएपछि माओवादीले पहिलो चरणमा केसीलाई पठाउने निर्णय गरेको थियो ।
Advertisement









