आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको सम्पर्क कार्यालय र आवासीय भवनको उद्घाटन गरे
आइतबार नै मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले कार्यालय भवनको साँचो जिम्मा लिएका छन् । सैंबु आवास क्षेत्रको २७ रोपनी १२ आना जमिनमा एउटै आवास क्षेत्रभित्र ७ वटा ठूला भवनहरु बनाइएको हो । सरकारले औसत एउटा भवन निर्माण गर्न जग्गाको मूल्यबाहेक करिब साढे १२ करोड रुपैयाँ खर्च गरेको छ । सबै भवनहरुको लागत करिब ८५ करोड रुपैयाँ हो ।
Advertisement
शहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठका अनुसार प्रदेश प्रुमख र मुख्यमन्त्रीलाई राजधानीमा सुविधासम्पन्न भवन बनाउने सरकारी नीति अनुरुप यी भवन निर्माण गरिएको हो ।
‘उहाँहरुलाई काठमाडौंमा सम्पर्क कार्यालय राख्न र यहाँ आउँदा बास बस्न भवन निर्माण गरिएको हो’, उनले भने, ‘एकै ठाउँमा रहेका सातवटै प्रदेशका यी भवनहरुले अन्तरसरकारी समन्वयमा सघाउने अपेक्षा गरेका छौं ।’
उनका अनुसार भवन निर्माण गरिएको संयुक्त आवास क्षेत्रको सुरक्षाका लागि शहरी विकास मन्त्रालयले गृह मन्त्रालयसँग अनुरोध गरिसकेको छ ।
भवन रहेको क्षेत्रको बीचमा वाटर फाउन्टेन निर्माण गरिएको छ । बगैँचा बनाएर फलफूलका बोटविरुवा रोपिएका छन् । भवनहरुमा बोरिङको पानी आपूर्ति गर्ने गरी १ लाख २७ हजार लिटरको भूमिगत ट्यांकी निर्माण गरिएको छ ।









